लिमि–लाप्चा सिमानाको १२ नम्वर पिल्लर चिनले नयाँ वनाएको खुलासा
हुम्लाको लिमि–लाप्चाको सिमानामा रहेको १२ नम्वर पिल्लर चिनले नयाँ निर्माण गरेको खुलासा भएको छ ।
कांग्रेस केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेशसभा प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाही नेतृत्वको टोलीले उक्त पिल्लरका वारेमा नयाँ खुलासा गरेको हो । टोलीले विवादित क्षेत्रको स्थलगत अनुगमन गरी प्रतिवेदन सार्वजनिक गरेको छ।
नेपाल र चीन सीमाको स्थलगत अध्ययन गर्न शाही नेतृत्वको टोली नाम्खा गाउँपालिका–६ स्थित लिमी र लाप्चा पुगेको थियो । टोलीले लोलुगङजोग र लिमि–लाप्चाको सिमानामा चीन सरकारले ६ महिनाअघि नै १२ नम्बरको नयाँ पिलर निर्माण गरेको निष्कर्ष निकालेको छ ।
टोलीले सोमवार पत्रकार सम्मेलन गरी सरकारको बेवास्ताका कारण नेपाली भूमि मिचिएको वताएको छ । सीमास्तम्भमा कोरिएका देवनागरी लिपीका अक्षर फरक–फरक रहेको र स्तम्भ पुरानो आकारमा पनि नभेटिएको साहिको भनाई छ ।नयाँ स्तम्भ आसपासमा पुराना स्तम्भका टुक्रा समेत भेटिएको उनको दावी छ ।
प्रतिपक्षी दलका नेता शाहीले नाम्खा गाउँपालिका–६ स्थित लिमी–लाप्चामा चीनले भवन निर्माण गरेको दाबी गरे । सीमा स्तम्भको अनुगमन गर्न गएको साहि नेतृत्वको टोलीमाथि चिनियाँ सुरक्षाकर्मीको टोलीले अश्रुग्यास प्रहार गरेर लखेटेको थियो ।