News

उपत्यवाट वाहिर जाने मान्छे रोक्न सरकारलाई सांसदहरुको सुझाव

उपत्यवाट वाहिर जाने मान्छे रोक्न सरकारलाई सांसदहरुको सुझाव

काठमाडौंको कोरोना नियन्त्रण र रोकथामका लागि तत्काल कडा खालको लकडाउन र काठमाडौं उपत्यका प्रवेश गर्ने नाका पूर्णरूपमा सील गर्न सांसदहरुले सुझाव दिएका छन्।

प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतका सांसदहरुले यस्तो सुझाव दिएका हुन् । शिक्षा तथा स्वास्थ्य समितिले मुलुकभर कोभिडको रोकथाम र उपचारमा कस्तो काम भइरहेको छ भनेर अनुगमन र निरीक्षण गर्ने उपसमितिका संयोजक जीवनराम श्रेष्ठले काठमाडौं उपत्यका प्रवेश गर्ने नाका पूर्णरूपमा बन्द गर्नुपर्ने सुझाव दिए।

उपसमितिले स्वास्थ्य क्षेत्रका विज्ञसँग गरेको छलफल र अन्य निकायसँगको परामर्शबाट निकालेको निष्कर्षबारे उनले समितिको सोमबारको बैठकमा जानकारी गराएका छन् । उपत्यकाबाट मान्छेहरू बाहिर नजाउन् भन्ने कुरामा विशेष ध्यान दिनुपर्ने उनको भनाई छ। ‘उपत्यकाबाट बाहिर गएमा बाहिरको अवस्था झनै भयावह हुनेछ । २÷३ हप्ता चाडपर्वको बीचमा उपत्यकाका नाकालाई सील गर्नुपर्छ’ उनले भने–‘नाका पास गर्नुपर्ने अनिवार्य काम परेकालाई नाकामा क्याम्प राखेर परीक्षणपछि मात्रै आउजाउका लागि अनुमति दिनुपर्छ ।’

सुरुमा गरिएको जस्तो लकडाउनले भने अब कोरोना नियन्त्रणमा सहयोग नगर्ने श्रेष्ठको भनाइ थियो । काठमाडौंको कोरोना संक्रमित बाहिरी जिल्ला गएर त्यहाँ संक्रमण फैलाएमा मुलुकले थेग्न नसक्ने उनको आकलन थियो । बाहिरी जिल्लाहरूका अस्पतालमा औषधि र दक्ष स्वास्थ्यकर्मी नरहेको बताउँदै उनले भने, ‘काठमाडौको स्थिति बाहिरी जिल्लामा आउने हो भने बाटोबाटोमा मान्छे मरेर यत्तिकै रहने अवस्था आउन सक्छ ।’

कांग्रेस सांसद उमेश श्रेष्ठले भने २० देखि २५ दिन जति कडा लकडाउन लगाउनुपर्ने सुझाव दिएका थिए । हालैमात्र कोरोना संक्रमणबाट मुक्त भएका उनले भीडभाड हुने ठाउँका सेवालाई तत्काल बन्द गर्नुपर्ने सुझाए । 

सांसद विद्या भट्टराईले राजनीतिक दलहरूले सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने धारणा राखिन् । कोरोना फैलिइरहेको अवस्थामा पनि राजनीतिक दलहरूले ठूला ठूला कार्यक्रम गरिरहेकोमा उनको आपत्ति थियो ।

मुलुकभर देखिएको कोरोना संक्रमितको संख्याको लगभग ५० प्रतिशत काठमाडौं उपत्यकाका मात्रै रहेको छ । कोरोना संक्रमित बढ्दा त्यसमा पनि लक्षणासहितका र गम्भीर अवस्थाका संक्रमितको संख्या बढ्दै जाँदा उनीहरूले उपचारका लागि अस्पताल नपाइरहेको विषयमा पनि सांसदले चिन्ता ब्यक्त गरे ।

कोरोना संक्रमणले गम्भीर अवस्थामा पुगेकालाई आवश्यक पर्ने आइसीयू र भेन्टिलेटरको उपलब्धता नहुँदा पनि अवस्था भयावह हुने आकलन गर्न थालिएको छ ।
 

विशेष