आईसियु वेड अभावका कारण कोरोना संक्रमित महिलाको मृत्यु
आईसियु वेड अभावका कारण इटहरीकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सुनसरीको ईटहरी उपमहानगरपालिका ६ की ६० वर्षीया महिलाको वुधवार धरानस्थित विपी कोईराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार उनलाई असोज २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मधुमेहको समस्यासमेत रहेकी उनलाई थप उपचारका लागि प्रतिष्ठानको कोभिड अस्पतालमा ल्याइए पनि आईसीयू बेड अभावले इमर्जेन्सी कक्षमा राखिएको थियो। सोहि क्रममा बुधबार बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसैगरी, मोरङ्गको वेलवारी नगरपालिका १० का ३७ वर्षीय पुरुषको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।
असोज २१ गते पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ रिपोर्ट आएपछि असोज २७ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो । आईसीयूमा राखेर उपचार गर्दागर्दै उनको बिहीबार राति मृत्यु भएको सहप्रवक्ता श्रेष्ठले बताए । मृतक पुरुषको दीर्घ रोगका वारेमा अस्पतालले थप जानकारी दिएको छैन ।