कलकत्ता वन्दरगाहामा राख्न नदिएपछि भिजेको डिएपी मल नेपालमा
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ग्लोबल टेन्डरमार्फत खरिद गरेको ४६ हजार बोरा (२३ सय मेट्रिक टन) डीएपी मल भिजेको अवस्थामा विरगञ्ज आईपुगेको छ । तेस्रो मुलुकबाट कोलकाता बन्दरगाह हुँदै असोज १८ गते विरगञ्ज आएको मल सिर्सिया वन्दरगाहाको गोदाममा अलपत्र छ ।
भिजेको र डल्लो परेको अवस्थामा आएका कारण हालसम्म मलको जाँचपास भएको छैन । मल कालो र ढिक्का परेको अवस्थामा छ ।
रेलको ब्यागनबाट बन्दरगाहको गोदाममा अनलोड गर्ने क्रममा नै मल डल्लो परिसकेको थियो । यसअघि भदौ पहिलो साता पनि २५ सय टन (५० हजार बोरा) डीएपी मल भिजेकै अवस्थामा वीरगञ्जको सुख्खा बन्दरगाह आइपुगेको थियो ।
सम्झौता अनुसार आपूर्तिकर्ताले राम्रो अवस्थाको मल गोदाममा नपु¥याउँदासम्म त्यसको आर्थिक दायित्व साल्ट ट्रेडिङले लिुन पर्दैन । जाँचपासपछिको जिम्मा भने साल्ट ट्रेडिङले लिनु पर्ने ब्यवस्था छ । आपूर्तिकर्ता स्वीस सिंगापुर ओभरसिजले ठेक्का सकार गरेको २५ हजार मेट्रिक टनमध्ये ६ हजार ८ सय मेट्रिक टन मल आपूर्ति गर्न बाँकी छ ।
सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रवक्ता भन्सार अधिकृत जगदीश पुर्वेले भिजेको मल जाँचपास हुने आधार नभएको बताए ।
आपूर्तिकर्ता कम्पनीका एक प्रतिनिधिले गत मे महिनामा बंगालको खाडीमा आएको ‘अम्फन’ आँधीका कारण मल भिजेको वताए । कोलकाता बन्दरगाहमा राख्न नदिएपछि भिजेको मल यहाँ ल्याइएको उनको भनाई छ ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड वीरगञ्जले भने बन्दरगाहको मलको जिम्मेवारी सप्लायर्सकै भएको जनाएको छ ।