जनताको जीवन बचाउन लाग्नु पर्ने सरकार भ्रष्टाचारमा लिप्त : देउवा
कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार गम्भिर नभएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आन्दोलन गर्ने चेतावनी दिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले दसैंलगत्तै सरकार विरुद्ध विरोधका औपचारिक कार्यक्रम घोषणा गरी आन्दोलन गर्ने बताएका हुन् । कांग्रेसले गठन गरेको कोभिड–१९ सम्बन्धी अनुगमन टोलीले तयार पारेको प्रतिवेदन बुझेपछि सभापति देउवाले दसैंलगत्तै संसद भित्र र बाहिर देशैभर सशक्त विरोध कार्यक्रम गर्ने बताए।
जनताको जीवन बचाउन जिम्मेवार भएर लाग्नु पर्ने सरकार काम भन्दा पनि भ्रष्टाचारमा लिप्त भएको देउवाको आरोप छ । औषधि, क्वारेन्टाइन, आइसोलेसन, अक्सिजन, भेन्टिलेटर लगायतको व्यवस्था गरी जनताको उपचार गर्नु सरकारको कर्तव्य भएपनि त्यो जिम्मेवारी सरकारले पुरा गर्न नसकेको उनको भनाई छ ।
यसैगरी, कांग्रेसका सहमहामन्त्री एवम् कोभिड–१९ अनुगमन समितिका संयोजक प्रकाशशरण महतले सरकार नागरिकको स्वास्थ्य सुरक्षा र दैनिक जीवनमा परेको आर्थिक सामाजिक कठिनाइप्रति संवेदनशील नभएको बताए । उनले सरकारलाई जिम्मेवार बनेर काम गर्नसमेत आग्रह गरे ।
कांग्रेसद्वारा गठित अनुगमन समितिले समितिले कोरोना समुदाय स्तरमा फैलिँदासमेत सरकार गम्भीर नबनेको निष्कर्ष निकालेको छ । समितिले विभिन्न क्षेत्रका व्यक्ति, विज्ञ र कोभिड–१९ रोकथाम तथा नियत्रणमा खटिएका व्यक्तिहरूसँग समन्वय गरी अनुगमन गरेको थियो ।