विश्व बैंकसँग ऋण लिन प्रक्रिया अघि बढाउने पौडेलेको पहिलो निर्णय
नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेलगत्तै विश्व बैंकसँग ऋण लिन प्रक्रिया अघि बढाउनेसम्बन्धी निर्णय गरेका छन । दुई सय मिलियन अमेरिकी डलर (करिब २० अर्ब नेपाली रुपैयाँ) ऋण स्वीकार गर्ने प्रस्ताव तयार पारी मन्त्रिपरिषदमा पेस गर्ने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ ।
०.७५ प्रतिशत ब्याजदरको यो ऋण बजेटरी सहायताअन्तर्गतको भएको र ऋण प्राप्त भए हाम्रा प्राथमिकताका क्षेत्रमा खर्च गर्न पाइने अर्थसचिव शिशिर ढुंगानाले जानकारी दिए ।
दातृ निकायसँग ऋण लिने विषय नियमित भए पनि हालको अवस्थामा विशेष महत्वको भएको उनले वताए । विश्वव्यापी कोरोना संक्रमणका कारण आर्थिक गतिविधि कम भई राजस्व संकलनमा कमी आइरहेको र सरकारी खर्चको चाप कम नभएकाले खर्चको स्रोत जुटाउन आन्तरिक ऋण, वैदेशिक सहायता तथा ऋण लिने कार्यलाई सरकारले प्राथमिकता दिइरहेको उनले वताए।
महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार मंगलबारसम्म चालु खर्चकै लागि राजस्वले धान्न छाडिसकेको देखिन्छ । अर्थात् मंगलबारसम्म १ खर्ब ६० अर्ब १३ करोड रुपैयाँ राजस्व संकलन भएकोमा १ खर्ब ६६ अर्ब ६८ करोड ६३ लाख रुपैयाँ चालु खर्च भइसकेको छ ।
चालु शीर्षकका लागि केही रकम र अन्य क्षेत्रको खर्चका लागि गत वर्षको मौज्दात, आन्तरिक ऋण तर वैदेशिक सहायताको रकम उपयोग गर्नुपरेको छ । यसले बचतमा रहेको राष्ट्रिय ढुकुटीको अंश घटाउँदै लगेको अर्थका अधिकारीहरूको भनाइ छ ।