बूढीगण्डकीमा अर्बौं भ्रष्टाचार भयो भन्नु जनता भड्काउने कुचेष्टाः प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले बूढीगण्डकी आयोजनामा अर्बौं भ्रष्टाचार भयो भनेर देश र जनतालाई भड्काएर गलत बाटोमा लैजाने कुचेष्टा भएको बताएका छन्।
नेपाल प्रहरीको ६५औं स्थापना दिवसका अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा ओलीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको अभिव्यक्तिप्रति लक्षित गर्दै बूढीगण्डकीमा अर्बौं भ्रष्टाचार भयो भन्ने कुरा निराधार भएको बताए ।
सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाए पनि केही गैरजिम्मेवार तत्वले गैरजिम्मेवार अभिव्यक्ति दिँदै हिँडेको प्रधानमन्त्रीले बताए । हुन्छ हुँदैन भन्ने टुंगो नभएको आयोजनामा पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीसमेतले यति अर्ब बाँडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको सुनेको वताएका उनले आफुहरु त्यति गैरजिम्मेवार र अनुत्तरदायी हुन नसक्ने वताए ।
केही दिनअघि पूर्वप्रधानमन्त्रीसमेत रहेका जसपा नेता बाबुराम भट्टराईले एउटा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहालले ९ अर्ब रुपैयाँ वाँडेर खाएको अभिव्यक्ति दिएका थिए । त्यसपछि कांग्रेस र नेकपा दुवैले विज्ञप्ति निकालेर आरोप पुष्टि गर्न भट्टराईलाई चुनौती दिएका थिए ।
त्यसपछि भट्टराईले सामाजिक सञ्जाल मार्फत निष्पक्ष छानबिन गर्न चुनौती दिएका छन् ।
प्रधानमन्त्री ओलीले आफूहरु सत्य निष्ठा र जिम्मेवारीका साथ अघि बढ्ने बताए । भ्रष्टाचार र अपराधविरुद्ध शून्य सहनशीलताका साथ अघि बढे पनि अरु कुराहरुमा सरकार सहनशीलताका साथ अघि बढ्ने उनले बताए । अपराध र भ्रष्टाचारविरद्धको शून्य सहनशीलताको नीति अपनाउन नेपाल प्रहरी प्रतिबद्ध भएर अघि बढ्ने कुरामा आफू विश्वस्त रहेको पनि प्रधानमन्त्री ओलीले बताए । प्रहरीमाथि नागरिकको विश्वास कमजोर भए नागरिक र प्रहरीबीचको सम्बन्ध नै कमजोर हुने पनि उनले बताए ।