मोरङ हस्पिटल प्रालिका सञ्चालकसहित ४ जनाको कोरोनाका कारण मृत्यु
मोरङ्गको पथरीस्थित मोरङ हस्पिटल प्रालिका सञ्चालकसहित ४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । आइतबार करिब ११ बजेदेखि सोमबार बिहानसम्ममा उनीहरुको मृत्यु भएको हो ।
न्युरो अस्पतालको कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएका मोरङको पथरी शनिश्चरे नगरपालिका–१ का ५३ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो। मृतक पथरीमा सञ्चालित मोरङ हस्पिटल प्रालिका सञ्चालक हुन् । २२ असोजमा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।
रिपोर्ट पोजेटिभ देखिएपछि सोही दिन न्युरोको कोभिड–१९ अस्पतालमा भर्ना भएका थिए । आईसीयूमा उपचाररत उनको स्वास्थ्यमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु भएको थियो । उनी मिर्गौला सम्बन्धी समस्याबाट पीडित थिए ।
यसैगरी, नोबेल मेडिकल कलेजमा उपचाररत मोरङको ग्रामथान गाउँपालिकाका पुरुषको सोमबार बिहान र विराटनगर–३ का ६६ वर्षीय पुरुषको आइतबार राति ११ बजे मृत्यु भएको नोबेल मेडिकल कलेजले जनाएको छ ।
ग्रामथानका पुरुषमा असोज २९ गते र विराटनगर–३ का पुरुषमा असोज २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि बिराटनगरका पुरुष होम आइसोलेसनमा थिए । श्वासप्रश्वासमा समस्या भएपछि थप उपचारका लागि आइतबार नोबेलको आइसोलेसनमा भर्ना गरिएको थियो ।
यस्तै, बिराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत संक्रमित एक महिलाको पनि ज्यान गएको छ । बिराटनगर–२ की ६० वर्षीया महिलाको बिहान ४ बजेतिर मृत्यु भएको हो । ती महिलामा असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।