News

मटरले लियो जुगेडाका असई विक र जवान साउदको ज्यान

मटरले लियो जुगेडाका असई विक र जवान साउदको ज्यान

कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र जवान रामबहादुर साउदको मटर तस्करले हत्या गरेको प्रहरीले पुष्टि गरेको छ । तस्करी रोक्न खोज्दा तस्करले घेरा हालेर उनीहरुको हत्या गरेको पाईएको छ ।

घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका ७ जनाले विक र साउदको हत्या गरेको स्वीकार्दै तस्करीमा अवरोध गरेकै कारण घटना भएको उल्लेख गरेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहका अनुसार घटनामा संलग्न हुनसक्ने आशंकाका आधारमा समातिएका १३ जनामध्ये ६ जनाको संलग्नता नेदेखिएपछि छोडिएको छ । ७ जनाले भने अभियोग स्वीकारेका छन् ।

शनिबार राति बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीका लागि गएका वेला असई विक र जवान साउद तस्कर समूहको निशानामा परेका थिए । विकको शव आइतबार मोहना नदीमा भेटिएको थियो भने साउदको मंगलवार विहान शव फेला परेको हो ।

अभियुक्तले दुवैको हत्या स्वीकारेपछि खोजीलाई थप साँघुरो बनाइएको थियो । यसक्रममा विकको शव भेटिएको स्थानबाट २ सय मिटर उत्तर–पूर्वतर्फ मंगलबार साउदको शव भेटिएको सिंहले जानकारी दिए ।

जमिनबाट करिब आधा फिट बालुवामा गाडिएको अवस्थामा उनको शव भेटिएको एसएसपी सिंहले जानकारी दिए । 

विशेष