घोपामा थप ती जना कोरोना संक्रमितको मृत्यु
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) मा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोभिड अस्पतालमा उपचाररत धरान–३ का ७२ वर्ष, धरान–१७ का ६८ वर्ष र इटहरी उपमहानगरका ५६ वर्षीय पुरुषको मृत्यु भएको हो ।
तीनै जनाको सोमवार मृत्यु भएको प्रतिष्ठानको कोभिड अस्पतालले जनाएको छ । अस्पतालले मंगलबार बिहान मात्र घटना सार्वजनिक गरेको हो ।
७२ वर्षीय पुरुषको असोज २९ गते पीसीआर जाँच गर्दा कोरोना पोजिटिभ देखिएको थियो । कोभिड अस्पतालमा बेड अभाव भएपछि उनी होम आइसोलेसनमा बसेका थिए । श्वासप्रश्वासमा जटिलता देखिएपछि उनलाई कात्तिक ३ गते कोभिड अस्पताल भर्ना गरिएको थियो ।
यसैगरी उच्च रक्तचापको समस्या रहेका धरान–१७ का ६८ वर्षीय पुरुषको पीसीआर रिपोर्ट असोज २८ गते पोजिटिभ देखिएको थियो । उनलाई कात्तिक ३ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
इटहरीका पुरुषलाई कात्तिक १ गते कोरोना पुष्टि भएको थियो । अस्पतालमा बेड अभाव भएपछि उनी होम आइसोलेसनमा बसेका थिए । श्वासप्रश्वासमा समस्या देखिएपछि उनी तीन दिनअघि देखि अस्पताल भर्ना भएको थिए ।