जुगेडाका प्रहरी जवान साउदको पनि शव भेटियो, सामुहिक आक्रमण भएको प्रहरीको निष्कर्ष
कैलालीको धनगढी उपमहानगरपालिका–१२ स्थित अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज (असई) गोविन्द विक र प्रहरी जवान रामवहादुर साउदको हत्याको अनुसन्धान निष्कर्ष नजिक पुगेको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले हालसम्मकको अनुसन्धानले विक र साउद माथि सामूहिक रुपमा आक्रमण भएको देखिएको वताए । अनुसन्धानको दायरा साँघुरो बन्दै गएकाले मंगलवार साँझसम्म निस्कर्षमा पुग्न सकिने सम्भावना रहेको उनको भनाई छ ।
स्रोतका अनुसार घरेलु हतियारको प्रयोगबाट दुवै जनाको घाँटी काटिएको देखिएको छ । हत्यापछि केही मिटरको दूरीमा रहेको नदीमा शव फ्यालिएको पाइएको प्रहरीको भनाइ छ । घटनामा संलग्न भएको आशंकामा १३ जनालाई प्रहरीले हिरासतमा राखेको छ ।
प्रहरीका अनुसार शनिबार राति मोटरसाइकल गस्तीमा गएका वेला असई विक र जवान रामबबहादुर साउद तस्कर समूहको निशानामा परेका थिए । विकको शव आईतवार मोहना नदीमा भेटिएको थियो भने साउदको शव पनि सोहि आसपासमा मंगलवार भेटिएको प्रहरीले जनाएको छ ।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार पक्राउ परेका व्यक्तिको संकेतका आधारमा साउदको शव फेला परेको हो ।
घटनाको अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चकुमार बाखु नेतृत्वको टोली परिचालित छ । कञ्चनपुरमा निर्मला पन्तको हत्या अनुसन्धान गरिरहेको वाखु नेतृत्वको टोली सोमवार कैलालीको जुगेडा पुगेको हो ।
तस्करी रोक्न गरेको कडाइकै कारण असई विक र जवान साउदको हत्या गरिएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।