युवराज खतिवडा अमेरीकामै वसाई सराई गर्ने !
हरी अधिकारी
मेरा फेसबूक मित्रहरूलाई सम्झना हुनु पर्छ, केही दिनअघि प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीका प्रियपात्र युवराज खतिवडाका विषयमा यसै ठाउँमा पोष्ट गरेको सानो टिप्पणीमा मैले लेखेको थिएँः ‘ओलीले सकेसम्म खतिवडाको राष्ट्रिय सभाको सदस्यतालाई निरन्तरता दिएर मन्त्रीको पदमा थमौती गर्नेछन् । त्यति गर्न सकेनन् भने यिनलाई अमेरिकाका लागि राजदूत बनाएर पठाउँने छन् ।’
कहिले काहीँ मेरो मनमा अचानक भविष्यमा हुनसक्ने घटनाहरूको अस्पष्ट चित्र सल्बलाउँन थाल्दछ । गत वर्ष अमेरिकाका लागि नेपाली राजदूतको वाशिङ्टन डीसीस्थित निवासमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडालाई भेट्दा त्यस्तै एउटा चित्र उभारमा आएको थियो मेरो दिमागको क्यान्भासमा । त्यतिबेला डाक्टर खतिवडासँग बिताएको दुई घण्टाको समयभरि म कुराकानी अर्थमन्त्रीसँग गरिरहेको भए पनि मनमनै भने झापाका ती लामघारेलाई अमेरिकाका लागि नेपालको भावी राजदूतको रूपमा नै हेरिरहेको थिएँ ।
अहिले आएर ओलीले मेरो भविष्यवाणीको सत्यापन गरिदिएका छन् । म साह्रै खुशी छु । समसामयिक नेपालको क्षितिजमा उदाएको युवराज खतिवडा नामक त्यो अन्यतम् प्रतिभालाई ओलीजीले फेरि एकपल्ट कदर गरी राजकीय जिम्मेवारी सुम्पेकोमा झापाली जनताको एउटा सानो समूह गद्गद् भएको छ भन्ने कुरामा विश्वास गर्नु नपर्ने कुनै कारण देखिंदैन । देशका अधिकांश मूर्ख जनता भने प्रधानमन्त्री ओलीलाई निहित स्वार्थ, संकीर्णता, अहंकार र मूर्खताको मिलिजुली अवतार जस्तो ठान्न बाध्य भएका छन् भने त्यो उनीहरूकै दुर्भाग्य हो, त्यसमा न झापाली प्रधानमन्त्री ओलीको दोष छ न त झापाका खतिवडाकै ।
अलि टाढासम्म फ्याँक्ने बानी परेका मित्रहरूले अहिले नै डाक्टर खतिवडाको डीसीपछिको पदस्थापन कता होला भनेर जोखना हेर्न खोजेको देखियो । कतिजनाले त यी सर्वक्षेत्रशोभनीय पण्डितपुरुषलाई अमेरिकाबाट फर्केपछि श्रीपशुपतिनाथको मूलभट्ट बनाउनु उचित हुन्छ भनेर नमागेको सल्लाह पनि दिएका रहेछन् । यो भने अलि बढी नै कल्पनाशील खोकाइको कुरो भयो ।
मलाई भने किन हो कुन्नि, डाक्टर खतिवडालाई मान/पदवी दिने सन्दर्भमा केपी ओलीले गरेको यो अतिको परिणति यी दिने/लिने दुवैका हकमा सुखद रहनेछैन जस्तो लागिरहेको छ । यस सन्दर्भमा अंग्रेजहरूले भन्ने गरेको ‘एनफ इज् एनफ’ चरितार्थ भएको छ र यसले सार्वजनिक जीवनको ढलानका बेलामा खतिवडाले गम्भीर खति बेहोर्नु पर्नेछ जस्तो देख्छु । रुग्णकाय ओलीको के भर ? उनको नेतृत्व ढल्पलाउन थालिसकेको छ, जुन दिन उनका हातबाट सत्ताको लगाम छुट्छ त्यस दिनदेखि नै खतिवडाको भाग्यको नक्षत्र पनि डुब्न थाल्नेछ । यिनले राज्यबाट लिन नहुने परिमाणको मान र धन जो लिएका छन् त्यसको हिसाबकिताब त नेपाली जनताद्वारा एकदिन मागिने छ नै ।
खतिवडाको वाशिङ्टन डीसीको पदस्थापनले यिनको अमेरिकामा हुने स्थायी बसाइ सराइको मार्ग प्रसस्त ग¥यो भने त्यो आश्चर्यको बिषय हुने छैन । हुन त भविष्यको कुरा कसले पो जानेको हुन्छ र मैले यकीन गरेर भन्न सक्नु ?
(अधिकारी पत्रकार र लेखक हुन्)