News

खर्च ब्यहोर्न नसक्ने स्वघोषणा गरे कोरोना संक्रमितको उपचार सरकारले गर्छः प्रधानमन्त्री

खर्च ब्यहोर्न नसक्ने स्वघोषणा गरे कोरोना संक्रमितको उपचार सरकारले गर्छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको उपचार खर्च ब्यहोर्न नसक्ने स्वघोषणा गरे त्यस्ता ब्यक्तिको उपचार सरकारले गर्ने वताएका छन् ।

वडा दशैंका अवसरमा देशवासीका नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले संक्रमितका परिवार र अस्पतालले पनि उपचार खर्च नब्यहोरेको खण्डमा कोरोना संक्रमितको उपचार सरकारले गर्ने बताए। 

विपत्तिका समयमा जनताको जीउधनको रक्षा गर्नु सरकारको निशर्तः दायित्व भएको वताएका ओलीले कोरोना भाइरसको परीक्षण र उपचारको यथोचित प्रबन्ध सरकारले गर्ने बताए । परिक्षण र उपचार मात्र नभई खोपको व्यवस्था गर्न पनि सरकार लाग्ने उनको भनाइ थियो ।

पछिल्लो समय सरकारले कोरोना संक्रमितको उपचार नगर्ने निर्णयलाई लिएर भएको आलोचनाप्रति संकेत गर्दै उनले भने–‘संक्रमितका परिवार र अस्पतालले उपचार गर्न नसक्ने भएमा त्यस्ता ब्यक्तिको उपचार सरकारले गर्छ ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गत कात्तिक २ गतेको नियमित पत्रकार सम्मेलनमा कोरोनाका विरामीको उपचार अबदेखि सरकारले नगर्ने बताएका थिए ।

प्रधानमन्त्री ओलीले कोरोना संक्रमणका कारण विगतभन्दा यस पटक दशैं फरक तरिकाले मनाउनु परेको बताए । मान्यजनहरुसँग टीका जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिँदा हुनसक्ने सम्भावित संक्रमणको खतरा ख्याल गर्न उनले आग्रह गरे ।

दसैँ मान्दा निकै होशियार भएर र सामाजिक दूरी कायम गरेर मान्न पनि उनले आग्रह गरे।

विशेष