सपथग्रहण कार्यक्रमको झडपमा घाईते भएका एक जनाको मृत्यु
पर्षा जिल्ला अन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गाउँपालिका स्तरीय कमितिको सपथग्रहण कार्यक्रममा भएको झडपमा घाईते भएका एक जनाको मृत्यु भएको छ ।
विन्दवासिनी गाउँपालिका सचिव मुकेश चौरसियाको वीरगञ्ज पानीट्यांकी स्थित एलएस न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको टाउकोमा चोट लागेको थियो ।
अर्का गम्भीर घाईते उत्तम तिवारीको उपचार नारायणी अस्पतालमा भइरहेको छ । उनको अवस्था चिन्ता जनक रहेको नारायणी अस्पतालले जनाएको छ । उनको पनि टाउकोमै चोट लागेको छ र सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गाउँपालिका स्तरीय कमितिको सपथग्रहण कार्यक्रममा विहिवार झडप भएको थियो। दुई पक्ष झड्पमा ८ जना घाइते भएका थिए ।
विन्दवासनी गाउँपालिका–५ परसौनी भाठामा नेकपाको गाउँपालिका कमिटीको शपथ ग्रहणमा असन्तुष्ट पक्षले आफनो पक्षलाई सहभागी नगराएको भन्दै विरोध जनाएका थिए । उनीहरुको विरोधपछि सुरु भएको विवादमा लाठी हानाहान भएको प्रहरीले जनाएको छ ।
झडपमा संलग्न रहेको आशंकामा प्रहरीले बिहीबार नै ८ जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरु मध्ये देवा सहनी, सुकवीन गद्दी र अनिश मियालाई हिरासतमा राखेर अन्यलाई प्रहरीले रिहा गरेको छ।