कोरोनाले पुर्वराजाको दशैं प्रभावित, नियमित पुजा मात्रै
कोरोना महामारीका कारण पूर्वराजा ज्ञानेन्द्र शाहको दशैंका अधिकांश कार्यक्रम प्रभावित भएका छन् । उनले आस्था, मान्यता, मर्यादा र कर्तव्यशीलतालाई कायम राख्दै दशैं पर्व शान्त, शालीनता र सादगीका रुपमा मनाउने निधो गरेका छन्।
यघिल्ला वर्ष झै महाअष्टमीका दिन विभिन्न शक्ति पीठमा दर्शन गर्ने कार्यक्रम समेत प्रभावित भएको उनको सचिवालयले जनाएको छ । उनले यस वर्ष सर्वसाधारणलाई दशैंको टीका पनि नलगाइदिने भएका छन्।
पुर्व राजाले नियमित पुजापाठ वाहेक दशैंका अन्य कुनै पनि कार्यक्रम नगर्ने घोषणा गरेको उनको सचिवालयका सदस्य फणिन्द्र पाठकले जानकारी दिए । पाठकले भने–‘दशमीमा टिका पनि आफनो परिवारमा मात्रै लगाउने घोषणा भएको छ।’
‘यस वर्ष महाअष्टमीका दिन विभिन्न शक्ति पीठहरुमा दर्शन गरी बक्सने कार्यक्रम र विजया दशमीका दिन टीका बक्सने कार्यक्रम दुवै नहुने घोषणा भएको थियो’ उनले भने–‘निवासमा नियमित पुजापाठ वाहेक यस वर्ष अन्य कार्यक्रम छैनन्।’