News

महिला नेतृत्वको टोलीले चुम्यो जुगलको चुचुरो

महिला नेतृत्वको टोलीले चुम्यो जुगलको चुचुरो

सगरमाथा आरोही शर्मिला लामासहित ५ जनाको टोलीले जुगल हिमशृंखलाअन्तर्गतको ग्याल्जेन पिक आरोहण गरेको छ ।

६ हजार १ सय ५१ मिटर उचाइको जुगल हिमशृंखलाअन्तर्गतको ग्याल्जेन पिक आरोहणपछि टोली राजधानी फर्किएको छ। ३ कार्तिकमा आरोहरण सम्पन्न भएको लामाले जानकारी दिईन।

जुगल गाउँपालिकाको आयोजना र सोल हिमालय टुर एण्ड ट्राभल्स प्रालिको व्यवस्थापनमा भएको आरोहण दलमा शर्मिला लामा, पेम्बा तामाङ, आङदोर्जे शेर्पा, सार्की शेर्पा र आङछिरिङ शेर्पा रहेको जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङले बताइन् । 

शर्मिला र पेम्बाले सगरमाथा आरोहण गरिसकेका छन् भने आरोहण दलका अन्य सदस्यले ६ हजार मिटर अग्ला राष्ट्रिय र अन्तर्राष्ट्रिय हिमालको सफलतापूर्वक आरोहण गरिसकेका छन् ।

सिन्धुपाल्चोकको जुगल हिमाल नेपाल घुम्न आउने विदेशी पर्यटकहरूका लागि सबैभन्दा नजिकको गन्तव्य बन्न सक्ने भएकाले त्यसको प्रचार प्रसारका लागि आरोहणको आयोजना गरिएको हो । यो राजधानी काठमाडौंवाट सवै भन्दा नजिकको हिमाल हो ।

कोरोना महामारीका कारण विश्व आक्रान्त भइरहेको बेला निरासा र तनावबाट मुक्त हुनुपर्छ भन्ने सन्देश दिन पनि आफ्नो टोली कोरोना परीक्षण पश्चात हिमाल आरोहणमा निस्केको शर्मिलाले वताईन। 

लामाले मानव बेचबिखनविरुद्धको सन्देश तथा पर्यटन पवद्र्धनमा टेवा पु¥याउन ८ हजार मिटर अग्ला विश्वका १४ हिमाल चढ्ने घोषणा गरेकी छिन् ।

हालसम्म विश्वको सर्वोच्च शिखर सगरमाथा, ८ हजार १ सय ६३ मिटरको मनास्लु, युरोपको सबैभन्दा अग्लो हिमाल इल्ब्रोस, ५ हजार ९ सय २५ मिटर अग्लो नेपालको रामदुङ हिमालको सफल आरोहण गरिसकेकी छन् । 

जानकारी अनुसार हालसम्म ८ हजार मिटरमाथिका विश्वका १४ अग्ला हिमाल २ जना (अष्ट्रेलियन र स्पेनिस) महिलाले मात्रै चढेका छन् ।
 

विशेष