News

टिकाको शुभ साईतः बिहान १० : १९ बजे

टिकाको शुभ साईतः बिहान १० : १९ बजे

आज विजयादशमी, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवम् समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदै छ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ। आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान १०ः११ बजे रहेको जनाएको छ। समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले टीकाप्रसाद ग्रहण गर्ने साइत १०ः१९ बजे उत्तम रहेको जानकारी दिए। 

विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्यतः साइत खोज्न नपर्ने पनि उनले बताए। ‘राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभसाइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ,’ उनले भने। 

आज विजयादशमीका दिन चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्छ। टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ। चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने अध्यक्ष गौतमले सुनाए।

सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले असत्यको प्रतीक रावणमाथि आजकै दिन विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ।

गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ।

आजकै दिन मौर्यसम्राट अशोकले शस्त्रास्त्र परित्याग गरेकाले बौद्धहरु शस्त्रपरित्याग दिवस मनाउँछन्।
 

विशेष