निर्वासनमा रहेका तिब्बती-सरकारका राष्ट्रपतिलाई अमेरिकी विदेश मन्त्रालयको निम्ता
ल्हासा । संयुक्त राज्य अमेरिकाले तिब्बती मुद्दाहरु हेर्नका लागि संयोजकका रुपमा रोबर्ट ए डेस्ट्रोलाई नियुक्त गरेको छ ।
रोबर्टलाई नियुक्त गरेको केही दिनपछि निर्वासनमा रहेका तिब्बती-सरकारका राष्ट्रपति लोबसाङ सांगेलाई ६ दशकमा पहिलो पटक अमेरिकी विदेश मन्त्रालयमा निमन्त्रणा गरिएको छ ।
निमन्त्रणाप्रति कृतज्ञता व्यक्त गर्दै सांगेले एक ट्विटमा भने, "तिब्बती मुद्दा हेर्ने अमेरिकी विशेष संयोजकसँग भेट्न पाउँदै निकै खुसी लागेको छ । केन्द्रीय तिब्बती प्रशासनका प्रमुखलाई अमेरिकी विदेश मन्त्रालयले औपचारिक रुपमा बोलाएको यो पहिलो पटक हो ।"
उनले फेसबुक पोस्टमा तिब्बती मुद्दाहरूको लागि संयुक्त राज्यका विशेष संयोजक रोबर्ट ए ड्यास्ट्रोसँगको भेट ऐतिहासिक क्षण भएको बताएका छन् ।
१४ अक्टोबरमा अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले तिब्बती मुद्दाहरूको लागि अमेरिकी विशेष समन्वयकको रूपमा सेवा गर्न डिस्ट्रोलाई नियुक्त गरेका हुन् ।