कलाकार मनोज गजुरेललाई कोरोना
कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण भएको छ । ज्वरो आउने र जिउ दुख्ने समस्या भएपछि परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको गजुरेल सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन्।
गजुरेलका दाजुलाई पनि संक्रमण देखिएपछि उनलाई नै अस्पताल लाने–ल्याउने क्रममा आफु पनि कोरोना पोजेटिभ भएको उनले जानकारी दिएका छन् । गत विहीबारदेखि सामान्य टाउको देख्ने र ज्वरो आउने गरेको थियो । शनिबार ढाडको दुखाइ महसुस भएपछि उनले आइतबार पीसीआर टेष्ट गरेका थिए । सोमबार कोरोना संक्रमण पुष्टि भयो ।
आफूमा गाह्रो हुने खालका लक्षणहरु नदेखिएको र गत विहीबारदेखि नै आइसोलेसनमा रहेको उनले बताएका छन् । ‘मलाई अहिले गाह्रो हुनेखालका सिमटम्स छैनन् तर पनि आफू र अरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुप्तवासमा रहेको जानकारी गराउन चाहान्छु,’ उनले सामाजिक सन्जालमा लेखेका छन् ।
‘मलाई बिश्वास छ, मेरो शरीरमा प्रवेश गरेको यो भाइरस मेरो शारिरीक, मानसिक र आध्यात्मिक ऊर्जाभन्दा बलियो पक्कै छैन । त्यसैले मैले यो भाइरसलाई मेरो शक्तिशाली इम्युन सिस्टममा स्वागत गरिसकेको छु,’ गजुरेलले लेखेका छन्, ‘तपाईंहरुको शुभकामनाले त मेरो शरीरको जित र भाइरसको हार झन् चाँडो हुनेछ ।’
गजुरेलले अरुलाई पनि सचेत रहन, पोजेटिभ देखिइहाल्यो भने पनि नआत्तिन र चिकित्सकको सम्पर्कमा रहन सुझाव दिएका छन् । संक्रमणबाट बँच्न सुरक्षाका सम्पुर्ण उपायहरू अपनाउँदा अपनाउँदै पनि यो जुनसुकै बेला जसलाई पनि लाग्न सक्ने रहेछ भन्दै उनले आफू सचेत रहन, अरुलाई सुरक्षित रहन तथा ‘पोजिटिभ’ देखिई हालेमा पनि नआत्तिन, विश्वासिलो चिकित्सकको सम्पर्कमा रहन उनको अनुरोध छ ।