राजप्रसाद सेवाका पूर्व प्रमुखसचिव खनालको निधन
तत्कालीन राजप्रसाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको निधन भएको छ ।
८८ वर्षिय खनालको मंगलबार साँझ काठमाडौँ महानगरपालिका–१३ कालीमाटीस्थित निवासमा निधन भएको हो। उनी मधुमेह र दमका रोगी थिए ।
कानुन क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालले मदन पुरस्कारसमेत पाएका थिए । उनले ‘मुलुकी ऐन केही विवेचना’, ‘कर सम्बन्धी कानून’, ‘नेपालको कानुनी इतिहासको रुपरेखा’, ‘रिट निवेदन सिद्धान्त र विवेचना’, ‘विश्वका प्रमुख कानुन प्रणाली’, ‘नेपालको कानुनी मस्यौदा’, तथा ‘समालोचना र फैसला’ लगायत पुस्तक लेखेका छन् ।
तनहुँमा जन्मिएका खनालले ३५ वर्ष राजप्रसाद सेवामा काम गरेका थिए । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।