News अपराध सुरक्षा

चौरसीया हत्या प्रकरणमा पूर्वसांसदसहित १२ जनाविरुद्ध जाहेरी दर्ता 

चौरसीया हत्या प्रकरणमा पूर्वसांसदसहित १२ जनाविरुद्ध जाहेरी दर्ता 

पर्साका नेकपा कार्यकर्ताको हत्या प्रकरणमा प्रहरीले पूर्वसांसद राजकुमार गुप्तासहित १२ जनाविरुद्ध जाहेरी दर्ता गरेको छ।

मृतक विन्दवासिनी गाउँपालिका नेकपा पार्टी कमिटी सचिव मुकेश चौरसियाका परिवारले दिएको किटानी जाहेरी प्रहरीले सात दिनपछि विहिवार दर्ता गरेको हो। 

जाहेरी अनुसार पूर्वसांसद गुप्तासहित १२ जनामाथि ज्यान मार्ने घटनामा संलग्न रहेको आरोपमा मुद्दा दर्ता गरिएको पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।

जिल्ला सरकारी वकिल कार्यालयमार्फत् जाहेरी दर्ता भएको उनको भनाई छ । घट्नास्थलमा नभएको ब्यक्तिको नाम समेत जाहेरीमा रहेको भन्दै यसअघि प्रहरीले जाहेरी लिन अस्वीकार गरेको थियो । सो विषयमा पूर्वमन्त्री मातृका यादवको नेतृत्वमा विरोध र धर्ना कार्यक्रम हुँदै आएको थियो।

चौरसियाको मृत्यु भएको एक साता भइसकेपनि प्रहरीले जाहेरी नलिएको भन्दै मृतकका परिवारले उनको शव बुझेका थिएनन्। झडप भएकै दिन प्रहरीले नेकपा पर्साका नेता राजकुमार गुप्तासहित ४ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । तर, केहि समयपछि नै उनीहरु छुटेका थिए ।

प्रहरीले भने उक्त घट्नामा विन्दवासिनी गाउँपालिका –४ का अखिलेश चौरसिया, शंकर पुकार तिवारी र रञ्जन तिवारी रहेको जनाएको छ । प्रहरीले विन्दवासिनी–३ का हमिस मियाँ र देवा सहनीलाई हिरासतमा राखेको छ ।

गत कात्तिक ६ गते विन्दवासिनी गाउँपालिकाको कमिटी गठनपछि भएको शपथ ग्रहणमा दोहोरो झडप हुँदा घाइते भएका चौरसियाको उपचारको क्रममा मृत्यु भएको थियो। 
 

विशेष