सुनसरी, मोरङ्ग र सिराहाका गरी ३ कोराना संक्रमितको मृत्यु
कोरोना संक्रमण भएका सिरहा र सुनसरीका १÷१ जनाको शुक्रवार मृत्यु भएको छ । विराटनगर स्थित विराट मेडिकल कलेजमा उपचारका लागि लाँदै गरेको दुवैको वाटोमै मृत्यु भएको छ ।
मेडिकल कलेजको आईसोलेसनमा एम्वुलेन्सवाट ओराल्ने क्रममा दुवैको मृत्यु भएको जनाईएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका–१३ खनारका ९२ वर्षीय वृद्ध र सिराहा सुखीपुर नगरपालिका–२ का ५५ वर्षीय पुरुषको मृत्यु भएको आइसोलेसन इञ्चार्ज सुनिल देवले जानकारी दिए । उनले भने–‘एम्बुलेन्सवाट ओराल्न खोज्दा दुवै जनाको मृत्यु भइसकेको थियो।’
इटहरीका वृद्धमा तीन दिनअघि कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बसेका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि आफन्तले अस्पताल ल्याएको थियो। उनी दम, उच्च रक्तचाप र मधुमेहको विरामी रहेको जनाईएको छ ।
यसैगरी, सिराहाको सुखीपुर नगरपालिका–२ का ५५ वर्षीय संक्रमित पुरुषलाई विराटनगरको नोवेल मेडिकल कलेजबाट रेफर गरिएको थियो।
यस्तै विराटनगर महानगरपालिका– १४ की ७२ वर्षीय महिलाको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको केन्द्रका प्रमुख डाक्टर दीपक सिग्देलले जानकारी दिए ।