प्रहरीकै सेटिङ्गमा खुलेआम तस्करी, करोडौंको राजश्व गुमाउँदै सरकार
सरकारले राजश्व वृद्धि गर्न अनेक उपाय गरिरहेको छ। आयात–निर्यातलाई ब्यवस्थित वनाउन सिमा नाकामा भन्सार कार्यालय राखिएका छन् । सिमाको सुरक्षा तथा चोरी तस्करी नियन्त्रण गर्नकै लागि सशस्त्र प्रहरी खटाईएका छन् । अझ पछिल्लो समयमा सशस्त्र प्रहरीका विओपी (वोर्डर आउट पोष्ट) थप्ने क्रम जारी नै छ । देशभर करिव ५ सय विओपी स्थापना भएका छन् ।
तर, तिनै प्रहरी असहयोगी र तस्कर मैत्री भइदिँदा भन्सार कार्यालयमा राजश्व संकलनको अवस्था भने चिन्ताजनक छ । प्रदेश २ को सप्तरीमा मात्रै विगत तीन महिनामा प्रहरीले भारतीय क्षेत्रवाट नेपाल छिराईएको करिव १ करोड रुपैयाँ वरावरको अवैध समान नियन्त्रण गर्यो । जसमध्ये रजनीगन्धा, तुलसी, राजनिवास, भोला, राजश्री, शिखर, पराग, मधु तथा कविर खैनी लगायतका सुर्तिजन्य पदार्थको परिमाण आधाभन्दा धेरै छ। नेपाल–भारत सिमा क्षेत्रवाट अवैध रुपमा आयात निर्यात हुने समान मध्ये यो परिमाण नगन्य हो ।
कोरोना संक्रमणका कारण गत चैत ११ गतेदेखि नै नेपाल–भारत सिमा सिल गरिएको छ । निश्चित नाका वाहेक मानिसको आवागमन समेत वन्द छ । विरामी भएर उपचार गराउन जानु पर्ने मानिस पनि मुस्किलले सिमा वारपार गरिरहेका छन्।
तर, यसै अवधिमा यति सामान पक्राउ पर्नु आफैमा आश्चर्यजनक हो। यसले एकातर्फ सिमानाकामा भईरहेको निर्वाध तस्करीलाई देखाउँछ भने अर्कोतर्फ सिमा नाका खुल्ला हुँदा अवैध रुपमा कति सामान आयात–निर्यात होला ? भन्ने कुराको अनुमान लगाउन सकिन्छ ।
यो समस्या सप्तरीको मात्र होईन। भारतसँग सिमा जोडिएका हरेक जिल्लामा यो समस्या छ। सिमामा खटिएका प्रहरीकै सेटिङ्गमा दैनिक करोडौंको सामान अवैद्य रुपमा नेपाल आयात हुने गरेको सिमा आसपासमा वसोवास गर्नेहरु वताउँछन् ।
पान पसलदेखि किराना पसल र थोकदेखि खुद्रा पसल जतासुकै पाईने रजनीगन्धा, तुलसी, राजनिवास, राजश्री जस्ता गुट्खा र खैनी नेपाली बजारभन्दा भारतीय बजारमा सस्तोमा पाइने भएकाले व्यापक मात्रामा तस्करी हुने गरेको छ । जसले गर्दा एकातर्फ राज्यको राजश्व गुमिरहेको छ भने अर्कोतर्फ नेपाली उत्पादकहरु मर्कामा परिरहेका छन् । नेपालमा भारतीय उत्पादनका रजनिगन्धा ४५ देखि ५०, राजनिवास १५, अन्य गुटखा ५ रुपैयाँ र कविर छाप खैनी १० देखि २० (लकडाउनपछि कतै १०, कतै १५ र कतै २०) रुपैयाँसम्म किन्न पाईन्छ। सस्तोमा भारतीय वजारमावाट सामान आयात भएपछि नेपाली उत्पादकले मुल्यमा प्रतिष्पर्धा गर्न नसकेको ब्यापारीहरु नै वताउँछन् ।
कसरी हुन्छ तस्करी ?
सरकारले आर्थिक अध्यादेश २०७४ मार्फत पानपसला, गुट्खा, खैनी, सुर्ती तथा सुर्तीजन्य पदार्थमा ३० प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरेको छ । सोही अध्यादेशले सुर्तीजन्य पदार्थको प्रतिकिलो रु ४२० भन्सार मुल्य तोकेको छ ।
तर भन्सार कार्यालयको रेकर्ड हेर्ने हो भने पानपसला, गुट्खा, खैनी, सुर्ती तथा सुर्तीजन्य पदार्थको भन्सार काटेको आजसम्म कुनै रेकर्ड पाइदैन। पाईयो भने पनि नगन्य रुपमा मात्रै। सप्तरी जिल्ला भन्सार कार्यालयकै कुरा गर्ने हो भने विगत डेढ वर्षदेखि रजनीगन्धा, तुलसी, राजनिवास, राजश्री जस्ता गुट्खा र खैनीलगायत सुर्तिजन्य पदार्थको एक रुपैयाँ पनि भन्सार कटेको रेकर्ड छैन । भन्सार प्रमुख अभिषेक कण्ठ भन्छन–‘म यो कार्यालयमा आएको डेढ वर्ष भयो, यस अवधिमा त्यस्ता सामग्रीको भन्सार कटेको छैन ।’
भन्सार काटेर सामान ल्याउँदा हरेक सामानको मुल्य वढ्न जान्छ। जसका कारण भारतबाट भन्सार नतिरी सामान आयात गरिन्छ। सिमा आसपासमा वसोवास गर्ने कतिपयको रोजिरोटी नै यसै पेसावाट चलेको छ । भारतसँग सिमा जोडिएका तराईका जिल्लामा कोरोना संक्रमण नियन्त्रण वाहिर जानुमा यो पेसाले पनि मद्दत गरेको सम्वन्धित निकायका कर्मचारीहरु वताउँछन् ।
हुन त अवैध रुपमा सामान ओसार पसार नियमित चल्छ। तर, प्रहरी प्रमुखहरु परिवर्तन हुँदा भने केहि समय रोकिन्छ। यसै समयमा प्रहरीले केहि सामान नियन्त्रण गरेर भन्सार कार्यालयमा वुझाउँछ । तर, प्रहरी–तस्कर सेटिङ्ग मिलेपछि वारपार सुरु हुन्छ। रोकिएको कारोवार खोल्नुलाई तस्करको भाषामा ‘लाईन खोल्नु’ भनिन्छ।
सामान ओसार पसारको मोलतोल मिलेपछि लाईन खुल्छ । यसमा प्रहरीका घुमुवा र सिमा क्षेत्रमा रहेका प्रहरी युटिका इन्चार्जको भुमिका महत्वपुर्ण हुन्छ। उनीहरुले प्रहरी प्रमुख र तस्कहरुको वार्तालाप गराउने देखि सानातिना तस्कर मार्फत आउने कमिशसन संकलनको काम गर्छन । तर, सहमित विपरीत कमिशनको रकममा दायाँ–वायाँ हुँदा भने उनीहरु पनि पक्राउ पर्ने गरेका छन् । ठुला कारोवारीसँग भने प्रहरी प्रमुखहरुले विभिन्न माद्यम प्रयोग गरेर आफै डिल गर्ने गरेको प्रहरी सुत्रको दावी छ ।
तस्करीको काम राति–राति हुन्छ। साना तिना पोके ब्यापारी भने दिउँसै ओसार पसार गर्छ । तस्करहरुले मोटरसाइकल, टेम्पो र पिकअप गाडीबाट सामान नाका कटाउने गर्दै आएका छन् । पिकअप गाडीमा खाद्यान्न ढुवानी भनेर लेखिन्छ र भित्र लुकाएर सेटिङमा सीमा कटाइन्छ ।
तर, प्रहरी भने प्रमुखहरुकै मिलेमतोमा भन्सार छलीको गुट्खा भित्रिन दिएको कुरालाई ठाडै अस्वीकार गर्छ। भन्सार क्षेत्रका केहि प्रहरी र घुमुवाका विषयमा वेला वेलामा त्यस्ता गुनासोहरु आउने गरेपनि प्रहरी प्रमुखकै संलग्न नभएको प्रदेश २ प्रहरी कार्यालयका प्रवक्ता एसपी कृष्णा प्रसाई वताउँछन् । ‘तराईका जिल्लामा चोरी पैठारीको समस्या चै छ। तर, सवै ठाउँमा नेपाल प्रहरी पुग्न सक्दैन’ उनले भने–‘तर, पछिल्लो समयमा चोरी तस्करीका सामान पक्राउ गर्ने दर वढेको छ। त्यो कुरा भन्सार कार्यालयको रेकर्डवाट पनि थाहा हुन्छ।’
तस्करहरुसँग मिलेको गुनासो आएपछि अनुसन्धान गर्दा आरोप पुष्टि भएका करिव २५/३० जना घुमुवा र त्यस्ता कर्मचारीलाई कारवाही पनि गरिएको प्रसाईले जानकारी दिए । ‘वेला वेलामा त्यस्तो गुनासो आउँछ। त्यस्ता गुनासोका विषयमा हामी सचेत छौं’ प्रसाई भन्छन्–‘तर, प्रहरी प्रमुखकै मिलेमतो भन्ने कुरा चै आरोप मात्रै हो ।’
नियन्त्रण र अनुगमन कतै छैन
सरकारले दुई देश विचको सिमा ब्यापारलाई ब्यवस्थित गर्न परिचालन गरेका निकायकै सेटिङ्गमा तस्करी वढेपनि अनुगमन गर्ने निकाय चुपचाप छन् ।
राजश्व अनुसन्धान विभागका अनुसार सिमानाकावाट हुने चोरी पैठारी नियन्त्रणकै लागि हरेक जिल्लामा भन्सार कार्यालय स्थापना गरिएका छन्। भन्सार कार्यालयलाई सहयोग गर्ने र चोरी पैठारी नियन्त्रण गर्ने पहिलो दायित्व सशस्त्र प्रहरीको हो। सोहि कारण सरकारले सशस्त्रको विओपी संख्या थप गर्ने रणनीति ल्याईएको हो । त्यस वाहेक हरेक जिल्लामा सिडिओको नेतृत्वमा राजश्व चुहावट नियन्त्रण समिति छ। ति निकायले नै त्यस्तो चोरी पैठारि नियन्त्रणका लागि काम गर्नु पर्ने विभागका निर्देशक दिर्घराज मैनाली वताउँछन्।
यस वाहेक आन्तरीक राजश्व विभाग अन्तर्गतका कार्यालयले पनि त्यस विषयमा काम गरिरहेको र गम्भिर प्रकृतिका घटनामा राजश्व अनुसन्धान विभागले त्यसको नियमनका लागि काम गर्ने गरेको मैनालीले जानकारी दिए । कोरोना संक्रमणको त्रास र वहानाका कारण पनि हाल चोरी तस्करी वढेको हुनसक्ने आशंका गरेका उनले त्यस विषयमा थप जानकारी लिएर योजनाहरु वनाईने वताए ।