विप्लव समूहका कम्पनी कमिस्नरसहित दुई जना पक्राउ
नेत्रविक्रम चन्द (विप्लव) समूहको कम्पनी कमिस्नरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सप्तरी सुरुंगा नगरपालिका–२ का प्रतिक भन्ने ३२ वर्षीय काशिनाथ घिमिरे र इलामको चुलाचुली गाउँपालिका–६ का सनम भन्ने १८ वर्षीय विज्ञान राईलाई प्रहरीले वुधवार मिक्लाजुङबाट हतियार, विस्फोटक पदार्थ एवं दस्ताबेजसहित पक्राउ गरेको हो।
घिमिरे चन्द समूहको पूर्वी कमान्ड मेची–कोसी ब्युरो चौथो कम्पनीका कमिस्नर (पूर्व सप्तरी जिल्ला सेक्रेटरी) र राई पाटीको साधारण सदस्य रहेको प्रहरीले जनाएको छ।
चन्दा असुली गरिरहेको गोप्य सूचनाका आधारमा मोरङका एसपी सन्तोष खड्काको नेतृत्वमा खटिएको प्रहरीले उनीहरुलाई साँझ साढे ७ वजे मिक्लाजुङ गाउँपालिका–१ घुर्मिसेवाट पक्राउ गरेको हो ।
उनीहरुको साथबाट भरुवा बन्दुक र यसमा प्रयोग हुने फलामको टुक्रा १ बट्टा, दुई प्याकेटमा रहेको ३ किलो जिलेटिन, २ सुतली बम, १ सकेट बम, १ टुकी बम, ३५ वटा इलेक्ट्रिक डेटोनेटर, १८ थान नन इलेक्ट्रिक डेटोनेटर, ६ थान लाइटर, १२ भोल्टको ब्याट्री, ४ बट्टा गन पाउडर र बारुद, पिलास, पेचकस, स्वीच लगायत वरामद भएको एसपी खड्काले वताए ।