पिसिआर गर्ने सहमतिपछि तनहुँ जलविद्युत् आयोजनाको मजदुर आन्दोलन स्थगित
पिसिआर परीक्षण गर्ने सहमतिपछि तनहुँ जलविद्युत् आयोजनाका मजदुरले आन्दोलन स्थगित गरेका छन्।
तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत सिनो हाइड्रोले परिचालन गरेका मजदुरको पिसिआर परीक्षण हुने भएपछि शुक्रबारदेखि सुरू आन्दोलन आज स्थगित भएको हो।
आरडिटी परीक्षण पश्चात् पोजिटिभ देखिएका मजदुरलाई काममा लगाएको भन्दै मजदुरले शुक्रबार दिउँसोदेखि आन्दोलन गरेका थिए।
आफूहरूको माग बमोजिम पिसिआर परीक्षण हुने भएपछि आन्दोलन स्थगित गरिएको मजदुर मोती श्रेष्ठले जानकारी दिए।
‘पोजेटिभ आएका मजदुरलाई आइसोलेसनमा नराखी काममा लगाएपछि विरोध गर्दै आन्दोलनमा उत्रिएका हौं’, श्रेष्ठले भने, ‘पिसिआर परीक्षणपश्चात् काम गर्ने गरी आन्दोलन स्थगित गरेका छौं।’
यस अगाडि मजदुर र निर्माण कम्पनीबीच दसैं बिदाबाट फर्किएपछि पिसिआर परीक्षण गर्ने सहमति भएको थियो। तनहुँ जलविद्युत् आयोजनाका प्रमुख अच्युत घिमिरेले ६९ मजदुरको आइतबार पिसिआर परीक्षण गरिने जानकारी दिए।
‘दसैं बिदा सकेर चार दिन अगाडि आएकज्ञा मजदुरको पिसिआर परीक्षण गर्ने सहमति भएको छ’, उनले भने, ‘नतिजा आएपछि मजदुर पुनः काममा फर्किन्छन्।’ दसैं मान्न घर गएका मजदुर टीकाको भोलिपल्ट काममा फर्किएका थिए।
नेपाली मजदुर दसैं बिदामा घर गएका बेला पनि चिनियाँ मजदुरले विद्युतगृह निर्माणको काम सुचारू राखेका थिए। असोज अन्तिम साता सबै मजदुरको पिसिआर परीक्षण गरिनुपर्ने मागसहित मजदुरले आन्दोलन गरेका थिए। निर्माण कम्पनीले सबै मजदुरको पिसिआर परीक्षण गरेपछि काम सुचारू भएको थियो।
सिनोले आयोजनाको प्याकेज दुई अन्तर्गतको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ। एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणको काम पनि अगाडि बढेको छ।
दमौलीबाट भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गरिनेछ। उक्त कामको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ। प्रसारण लाइनका लागि चालु आर्थिक वर्षमा ३० वटा टावर निर्माण गरिनेछ। प्रसारण लाइनका लागि कूल ९४ वटा टावर निर्माण गरिनेछ ।
प्रसारण लाइन निर्माणको काम सन् २०२२ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। पहिलो प्याकेज अन्तर्गतका कामका लागि तीन वटा कम्पनीको बोलपत्र परेको र ती बोलपत्र उपर मूल्याङ्कनको काम भइरहेको आयोजनाले जनाएको छ।
पहिलो प्याकेज अन्तर्गतका कामका लागि लार्सन एण्ड टर्बो इन्डिया, चाइना गेजुवा कम्पनी र सोङ्दा भियतनामरकालिका जेभीले बोलपत्र पेश गरेका थिए। पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुइटा सुरूङ, अस्थायी बाँधलगायत संरचना निर्माण गरिनेछ।
आयोजनाका लागि १४० मिटर बाँध, एक हजार १६२ मिटर र ७४ मिटर को मुख्य सुरुङ, ८९ मिटर लम्बाई, २२ मिटर चौडाई र ४४ मिटर उचाई भएको भूमिगृत विद्यृत गृह निर्माण गरिनेछ। खुद उचाई १२१ मिटर रहने आयोजनाबाट सुख्खायामा १७८.९० मेगावाट र वर्षा याममा ३२३.६८ मेगावाट ऊर्जा उत्पादन गर्नेछ ।
आयोजनाको कूल लागत ५०५ मिलियन अमेरिकी डलर (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) रहेको छ। जाइकाले दोस्रो प्याकेज अन्तर्गतका कामका लागि रु १८४ मिलियन अमेरिकी डलर व्यहोर्ने छ ।
(रासस)