आलम वम काण्डः घाइतेलाई जिउँदै भट्टिमा पोल्ने मिस्त्री पक्राउ
नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री शेख ईद्रिसले घटाएको वम काण्डमा जिउँदै मानिसलाई मानिसलाई भट्टिमा कोचर्ने हेड मिस्त्री पक्राउ परेका छन् ।
जिउँदै मानिस जलाइएको प्रकरणमा फरार रहेका ८ मध्ये बारा सिम्रौनगढ नगरपालिका ४ का ५५ वर्षीय बद्रि सहनीलाई प्रहरीले नेपाल भारत सीमाक्षेत्रबाट पक्राउ गरेको हो । उनलाई आइतबार अदालत पेश गर्ने तयारी भईरहेको छ । अन्य ७ जना अझै फरार छन् ।
सहनीलाई शुक्रबार साँझ पक्राउ गरेको प्रदेश २ प्रहरी कार्यालय जनकपुरका डीआईजी धिरजप्रताप सिंहले बताए । यसअघि आरोपिहरु शेख सेराज र मुक्ती साह पक्राउ परिसकेका छन् ।
प्रहरीका अनुसार बम विस्फोटपछि सांसद आलम र उनका भाइ महताबको निर्देशनमा सहनीले घाइतेलाई भट्टामा हालेका थिए । त्यसवेला उनी इटाभट्टाका हेडमिस्त्री थिए । घटनाको १२ वर्षपछि पक्राउ परेका घट्नाका मुख्य आरोपी पूर्वमन्त्री मोहम्मद आफताब आलम पुर्पक्षका लागि गत २९ कार्तिकदेखि नख्खु जेलमा छन् ।
पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राति राजपुर नगरपालिका–४ स्थित आलमका काका शेख इद्रिसको गोठमा बम विस्फोट भएको थियो । उक्त घटनामा यमुनामाई गाउँपालिका–४ का त्रिलोकप्रसाद सिंह, ओसि अख्तरलाई भट्टामा घाइते अवस्थामा जिउँदै जलाएको थियो ।
आलम लगायत ४ जना विरुद्ध २०६५ वैशाख ९ गते किटानी जाहेरी परेको थियो । घट्नाको २ महिनापछि २०६५ असारमा सांसद आलम, उनका भाइ महताब आलमसहित ४ जना पक्राउ परे। तर, सत्ताको आडमा एकै दिनमा अनुसन्धान सकेर प्रमाण नपुगेको भन्दै उनीहरुलाई छोडिएको थियो।
०७१ मंसिर २० गते पीडितकातर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा निवेदन पर्यो । पीडितले सर्वोच्च अदालतमा पनि रिट दायर गरे। त्यसपछि आलम पुनः पक्राउ परे।
उक्त मुद्दामा सांसद आलम लगायत ११ जना विरुद्ध जन्मकैद सजायको मागसहितको अभियोग पत्र अदालत समक्ष दर्ता भएको थियो ।