News

सरकारले किन लुकाउँदैछ कोरोनाका कारण मृत्यु हुनेको संख्या ?

सरकारले किन लुकाउँदैछ कोरोनाका कारण मृत्यु हुनेको संख्या ?

सरकारले कोरोना संक्रमणवाट मृत्यु भएकाहरुको संख्या लुकाउने गरेको खुलेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाको तथ्यांकका आधारमा सरकारले मृतकको संख्या लुकाउने गरेको खुलेको हो । स्वास्थ मन्त्रालयले सार्वजनिक गर्ने गरेको संख्या वास्तविकभन्दा निकै कम रहेको पाइएको छ । 

मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म देशभर ९ सय २० जनाको मृत्यु भएको छ तर प्रदेश सरकारका सामाजिक विकास मन्त्रालय तथा नेपाली सेनाले व्यवस्थापन गरेका शवको संख्या हिसाव गर्ने हो भने मृतकको संख्या १४ सयभन्दा वढि देखिन्छ।

सबै प्रदेशका सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकलाई मात्रै जोड्दा पनि मृतकको संख्या एक हजार ९७ पुग्छ । अर्कोतर्फ कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को समन्वयमा नेपाली सेनाले कात्तिक १२ गतेसम्ममा १४ सय हाराहारी शव व्यवस्थापन गरिसकेको सैनिक स्रोतले जनाएको छ ।

सरकारले पछिल्लो पटक होम आईसोलेसनमा मृत्यु भएका संक्रमितको शव परिवारले नै ब्यवस्थापन गर्ने निर्णय गरेको छ। तर, त्यसअघि सबै संक्रमितको शव सेनाले व्यवस्थापन गर्ने गरेको थियो। 

सेनाले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर केही दिनपछि मात्रै यकिन तथ्यांक उपलब्ध गराउन सकिने जानकारी दिएको छ।

सेनाको पूर्वी पृतनादेखि सुदूरपश्चिम पृतनासम्मले गरेको होम आइसोलेसनमा मृत्यु भएकाको शव व्यवस्थापनको तथ्यांक भने उपलब्ध गराएका छन । उनका अनुसार कात्तिक १२ गतेसम्म सेनाले होम आइसोलेसनमा मृत्यु भएका ३५ महिला र ७१ पुरुष गरेर १ सय ६ जनाको शव व्यवस्थापन गरेको छ । उपत्यका पृतनाले मात्रै १० महिला र २० पुरुष गरी ३० जनाको शव व्यवस्थापन गरिसकेको छ । असोज ३० सम्म कोरोनाले मृत्यु भएका ८ सय ८९ जनाको शव नेपाली सेनाले व्यवस्थापन गरेको थियो ।

त्यो दिन स्वास्थ्य मन्त्रालयले रेकर्डमा मृतकको संख्या ७ सय १५ मात्रै थियो अर्थात् एकै दिन विवरणमा १ सय ७४ फरक परेको थियो । संख्यामा यसरी ठूलो अन्तर देखिनुको कारणबारे सेनाले प्रतिकृया दिन चाहेको छैन । 

प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले शुक्रबारसम्म सार्वजनिक गरेको तथ्यांकअनुसार त्यहाँ १ सय ८५ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भने १ सय १५ जनाको मात्र मृत्यु भएको छ । प्रदेश २ को सामाजिक विकास मन्त्रालयका अनुसार शुक्रबारसम्म त्यहाँ १ सय ८५ जनाको ज्यान गइसकेको छ भने स्वास्थ्यको तथ्यांकमा मृतक संख्या १ सय ५७ मात्रै छ ।

वाग्मतीको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको मृतकको संख्या भने स्वास्थ्यको तथ्यांकभन्दा कम छ । प्रदेशका अनुसार कुल मृतक संख्या ४ सय ४४ छ भने स्वास्थ्य मन्त्रालयले ४ सय ४७ रहेको जनाएको छ । गण्डकी प्रदेश सरकारका अनुसार त्यहाँ शुक्रबारसम्ममा ७५ जनाको मृत्यु भएको छ । स्वास्थ्यको तथ्यांकमा भने त्यहाँ ४८ जनाको मात्रै ज्यान गएको देखिन्छ । लुम्बिनी सरकारका अननुसार बिहीबारसम्ममा त्यहाँ मृत्यु भएकाको संख्या १ सय ७० छ भने स्वास्थ्य मन्त्रालयले शुक्रबारसम्म नै गरेर १ सय २६ जनाको मात्रै ज्यान गएको उल्लेख गरेको छ ।

यस्तै कर्णाली प्रदेश सरकारका अनुसार त्यहाँ हालसम्म १५ जनाको ज्यान गएको छ । स्वास्थ्यको तथ्यांकमा भने मृतक संख्या १० मात्रै छ । सुदूरपश्चिम सरकारले शुक्रबारसम्म २३ जनाको मृत्यु भएको उल्लेख गरे पनि स्वास्थ्य मन्त्रालयले १७ जनाको मात्रै ज्यान गएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले मृतकको वास्तविक संख्या र मन्त्रालयलाई प्राप्त संख्याबीच धेरै ठूलो भिन्नता देखिएको स्वीकार गर्दै त्यसलाई मिलाउन समिति नै बनाएर अनुसन्धान गरिरहेको जनाएको छ । प्रारम्भिक रूपमा अस्पताल, स्थानीय तह तथा डीसीसीएमसीबीच समन्वय अभावले तथ्यांक फरक परेको मन्त्रालयले जनाएको छ । यस्तै केही अस्पतालले ईडीसीडीलाई तथ्यांक उपलब्ध गराएका छैनन्। 
 

विशेष