सार्वजनिक सवारीमा भाडादर नराखे कार्वाही
सार्वजनिक सवारी साधनले चर्को भाडा लिने गरेको गुनासो वढेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक यात्रुवाहक सवारी साधनमा भाडादरको विवरण अनिवार्य टाँस्न निर्देशन दिएको छ ।
निर्देशनको वेवास्ता गरी यात्रुले देख्नेगरी भाडा दर विवरण नराखे कारबाही गरी ट्राफिक प्रहरीले जनाएको छ । कार्तिक १४ गतेदेखि यसलाई अभियानका रूपमा अगाडि वढाईएको र पहिलो दिन नै ४२९ वटा सवारी साधनहरूमा भाडा दर विवरण टाँस गरिएको महाशाखाले जनाएको छ ।
यात्रुको गुनासो व्यवस्थापन गर्न तथा यात्रुलाई आफनो गन्तव्यसम्मको भाडादर सजिलै थाहा पाई ठगिनबाट जोगाउनका लागि भाडादरको लिष्ट सवारीमा अनिवार्य राख्न लगाइएको ट्राफिक महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालले बताए।
यात्रुवाहक सवारीसाधनले प्रचलित तोकेको भन्दा बढी भाडा लिने, आरक्षण सिट नराख्ने र राखे पनि कार्यान्वयन नगर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने गरेको भन्दै काठमाडौं उपत्यकामा कडा निगरानी तथा चेकजाँच गरिरहेको ढकालको भनाई छ ।