मन्त्रीमण्डल पुनर्गठनको हल्ला चलाएर सुटुक्क मन्त्री थप्ने तयारी
कोरोनाको त्रासका कारण स्थगित भएको नेकपा सचिवालय वैठक मंगलवार ४ बजेका लागि वोलाईएको छ ।
भोलि नै क्याबिनेट हेरफेर भन्दा पनि रिक्त तीन मन्त्रालयमा नयाँ मन्त्री थप्ने बालुवाटारको प्रस्तावलाई मूर्त रूप दिइने भएको छ ।
दुई जना अध्यक्षको सहमतिमा सचिवालयमा प्रस्ताव नै नल्याई तीन जना मन्त्री थपिने सम्भावना बढेको श्रोतले जनाएको छ ।
उच्च स्रोतका अनुसार पूर्व एमालेतर्फबाट महासचिव विष्णु पौडेलको नाम मन्त्री वन्नेमा पक्का छ । सम्भवतः अर्थ मन्त्रीमा पौडेल र सञ्चार वा शहरी बिकास मन्त्रीमा जनार्दन शर्माको नाम पक्कापक्की देखिएको छ । सञ्चार प्रति सँधै अरुचि देखाएका शर्माले पार्टीभित्र उत्पन्न पछिल्लो असहज अवस्थामा सँगै खटिएका पौडेललाई अर्थ मन्त्रालय दिँदा आफूलाई कम्तिमा गृह हुनुपर्ने भन्दै चर्को लबिङ्ग शुरु गरेको श्रोत वताउँछ ।
शहरी विकास मन्त्रीमा प्रस्तावित नेकपा नेता सुरेन्द्र पाण्डेले भने आफ्नो रुची विनाको मन्त्रालय नस्वीकार्ने जनाउ अध्यक्षद्वयलाई दिएका छन् ।
पार्टी एकीकरणदेखि दुई नेतावीच अनेक सम्झौताका साक्षी रुरु (रुपन्देही र रुकुमे) बिष्णु र जनार्दनले भोली थपिने क्याबिनेटमा पूर्व एमाले र माओवादीको प्रतिनिधित्व गर्नेछन् ।
बिष्णुको अर्थमन्त्रीमा नियुक्तिले पाँच नम्बर प्रदेशको राजधानी बुटवलबाट दाङ्ग सरेकोमा उत्पन्न आक्रोशलाई केही मत्थर पार्ने नेताहरुको आँकलन छ।
पूर्व उपप्रधानमन्त्री तथा स्थायी समिति सदस्य भीम रावलको नाम चर्चामा ल्याइए पनि उनी वर्तमान अवस्थामा उपप्रधानसहितको मन्त्री बन्नसक्ने सम्भावना नरहेको श्रोत बताउँछ ।
यता, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएका श्रृंखलाबद्ध भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व माओवादी पक्षबाट हुनसक्ने मन्त्रीहरूको सम्भावित नाम समेत आफैँले प्रस्ताव गरेका छन् । उनले पटक–पटक प्रचण्डसँग ‘टोपबहादुर रायमाझी र प्रभु साहलाई मन्त्री बनाउनुपर्यो, लेखराज भट्ट र रामबहादुर थापा ‘बादल’ लाई कायम राख्नुपर्यो भन्ने गरेका छन्। ओलीले ‘बरु, अरु नभए हरिबोल गजुरेललाई भएनि बनाम’ भनेर धेरैपटक नामै तोकेको स्रोतको दावी छ ।
प्रधानमन्त्रीले नै माओवादीको तर्फबाट बनाउने भनिएका मन्त्रीहरूको नामसमेत उल्लेख गर्न थालेपछि फालिने र राखिने मन्त्रीहरूको अनुमान गर्न थालिएको छ । प्रधानमन्त्री शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कुनै पनि हालतमा निरन्तरता नदिने पक्षमा देखिएका छन् । पाठ्यक्रम र उपकुलपती नियुक्तिको विषयमा पोखरेल विवादमा तानिएका थिए ।
तर, उपकुलपती नियुक्तिमा सबै प्रधानमन्त्रीले चाहे बमोजिम गरिएको स्रोतले जनाएको छ । उपकुलपती नियुक्तिमा पोखरेलले गरेको सिफारिशलाई बालुवाटारले भाउ नै नदिएको स्रोतको दाबी छ । त्यसैगरी वनमन्त्री शक्ति बस्नेत पनि फालिने सूचीमा परेका छन् ।
यहि क्रममा वर्षमानलाई कुलमानको विषयमा डाम्ने र फाल्ने शंका गरिए पनि उनलाई कायम राख्नेमा प्रधानमन्त्री फेरि सकारात्मक भएका छन् । यसबीच पुनले प्रधानमन्त्रीसँग कम्तिमा पनि चार पटक भेट गरेर बिग्रेको कुरो सपारेको स्रोतको दाबी छ ।
तर, पूर्व एमाले तर्फबाट नियुक्त कृषि मन्त्री घनश्याम भुसालको बारेमा भने प्रधानमन्त्री कहिल्यै सकारात्मक देखिएका छैनन्। आफू निकट भएपनि सहकारी मन्त्री पद्यमा अर्याललाई बिदा गर्ने मुडमा प्रधानमन्त्री देखिएका छन् । त्यसैगरी खेलकुद मन्त्री जगत विश्वकर्माले पनि बिदा पाउने निश्चित झैँ देखिएको छ ।