प्रदेश ५ः नाम लुम्विनी, राजधानी दाङको देउखुरी
प्रदेश ५ को नाम स्थायी राजधानी दाङको देउखुरी र नाम लुम्बिनी तोकिएको छ ।
प्रदेशसभाको मंगलबारको बैठकबाट नाम र राजधानीको टुङ्गो लागेको हो । सरकारले प्रस्तत गरेको प्रस्दाव दुई तिहाई बहुमतले पारित भएको छ ।
प्रदेशको नाम र राजधानी सम्बन्धमा सरकारले ल्याएको प्रस्तावमा मतदान भयो। लुम्बिनी नामका विषयमा ८३ जनाले मतदान गरे। ७९ जनाले पक्षमा र ४ जनाले विपक्षमा मतदान गरेका थिए ।
नामका सम्बन्धमा कांग्रेस र नेकपाले पक्षमा मतदान गरेका हुन् । जनता समाजवादी पार्टीका ४ जनाले विपक्षमा मतदान गरे ।
यसैगरी, राजधानीका विषयमा ८२ जनाले मतदान गरे। पक्षमा ६९ र विपक्षमा १३ मत पर्यो ।
प्रदेश सभाका ८७ मध्ये ८६ जना उपस्थित थिए । सभामुखले मतदान गर्न नपाइने नियम छ । कांग्रेस सदस्य सुरेन्द्र हमाल अनुपस्थित थिए । जनता समाजवादी पार्टीका सचेतक सन्तोषकुमार पाण्डे र सदस्य कल्पना पाण्डेले पनि मतदान बहिस्कार गरे । प्रदेश राजधानी दाङ लैजानेबारे राष्ट्रिय जनमोर्चाका तारा जीसीले पनि मतदान बहिष्कार गरिन् ।
१९ सदस्य रहेको कांग्रेस तितरबितर भयो । लुम्बिनी क्षेत्रका १३ सदस्यले राजधानी दाङ लैजाने विपक्षमा मतदान गरे । जनता समाजवादी पार्टीका संसदीय दलका नेता सहसराम यादव, सदस्य पुर्मती ढेंगामगर, विजयबहादुर यादव र सुमन शर्मा रायमाझीले राजधानी दाङ लैजाने पक्षमा मतदान गरे ।