२८ वर्षिया सोमिकाले जन्माईन एकै पटक ५ वच्चा
नुवाकोटकी स्थायी बासिन्दा २८ वर्षिया सोमिका तामाङ्ले शल्यक्रियामार्फत चार छोरी र एक छोरालाई जन्म दिएकी छिन्। तर छोरा भने मृत अवस्थामा जन्मिएको चिकित्सकहरूले बताएका छन्।
सोमबार काठमाण्डूको प्रसूति गृह अस्पतालमा एकैपटक पाँच बच्चा जन्माएका दम्पतिले दुर्लभ घटना भएको भन्दै आफूहरूलाई भाग्यमानी ठानेका वताएका छन् । उनीहरु एकदमै खुसी छन्।
एक छोराको गर्भमै मृत्यु भए पनि ४ छोरीहरू भएर आफुलाई एकदमै खुसी लागेको बच्चाहरूका बाबु हरिकुमार तामाङले वताए ।
बच्चाहरूकी आमा सोमिकाले शल्यक्रिया पुर्व बाँच्दिन जस्तै लागेको वताईन । भाग्यले बाँचेपनि एकैपटक ४ छोरीकी आमा बन्न पाउँदा अति खुसी लागेको उनले वताएकी छिन् ।
उनको अवस्था राम्रो रहेको बताइएको छ। आमा सोमिका तामाङ् चिकित्सकको सल्लाहमा पूर्ण आराम गरिरहेको र अरूको सहारा लिएर हिंडडुल गर्न सक्ने अवस्थामा रहेको परिवारका सदस्यले जानकारी दिए ।
एकैपटक पाँचवटा बच्चाको जन्म भएको घटना सम्भवतः नेपालमा पछिल्लो केही दशकमा पहिलोपटक हुनसक्ने बच्चा जन्माउन शल्यक्रियामा संलग्न प्रसूति गृहका डा. कीर्तिपाल सुवेदीले बताए।
उनी भन्छन्, ‘मेरो अहिलेसम्मको अनुभवमा पाँचवटा शिशुको जन्म पहिलो पटक देखेको हुँ। यस्तो विदेशतिर पनि एकदम दुर्लभ मानिन्छ ।’
शल्यक्रियामार्फत् जन्मेका ५ मध्ये एक जनाको आमाको गर्भमा नै मृत्यु भएको र चार जना जीवित रहेको अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीले बताए।
नवजात शिशुहरूको तौल १९ सय ग्राम, १८ सय ग्राम, १६ सय ग्राम र ८ सय ग्राम रहेको अस्पतालले जनाएको छ भने आमा र शिशुहरूको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
जिवित जन्मिएका चार शिशुहरूमध्ये तीन जना शिशु परिवार सँगै छन् भने १ जनलाई एनआईसीयूमा राखिएको तर अवस्था सामान्य नै रहेको जनाइएको छ।
सोमिका गर्भवती भएको ५ महिना देखि नै सोमिका र उनको परिवारलाई चिन्ताले सताउने गरेको थियो ।
शल्यक्रिया सफल भएपछि अहिले परिवारमा खुसी छाएको छ । हरिकुमारले भने–‘सोमिकाको लागि पहिला जति पीडा र दुःख भएको थियो त्यो सबै अहिले बिर्से जस्तो भयो।’
सोमिकाकी आमाको पनि पहिले जुम्ल्याहा बच्चा जन्माएको उनले वताए ।
एकैपटक धेरै बच्चा जन्मनुमा पारिवारीक पृष्ठभूमिको पनि भूमिका हुन सक्ने डा कीर्तिपाल सुवेदी बताउँछन्।
तर गर्भवती हुनुअघि सोमिका विभिन्न प्रजनन् उपचारमा सहभागी भएकीले पनि उनमा एकैपटक बच्चा रहेको हुनसक्ने सम्भावना देखिएको डा. सुवेदीले बताए।
सुवेदीको नेतृत्वमा भएको शल्यक्रियामा डा. दिप्ती श्रेष्ठ, डा. नमिता सिङदेन लगायत संलग्न रहेको अस्पतालले जनाएको छ।
बीबीसी नेपालीको सहयोगमा