News विदेश

कोरोना: पुष्टि भएको थोरै हो, विश्वका ८० करोड मानिस संक्रमित हुन सक्छनः डब्लुएचओ

कोरोना: पुष्टि भएको थोरै हो, विश्वका ८० करोड मानिस संक्रमित हुन सक्छनः डब्लुएचओ

विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले विश्वको जनसंख्याको १० प्रतिशतमा कोरोना भाइरसको संक्रमण हुन सक्ने बताएका छन् । सोमबार डब्लूएचओको मुख्यालय जेनेभामा आयोजित डब्लूएचओको कार्यकारी बोर्डको मिटिङमा डब्लूएचओका आपत्कालीन कार्यक्रमका प्रमुख डाक्टर माइक र्यानले ‘विश्वको ठूलो हिस्सा’ कोरोना संक्रमणको जोखिममा रहेको बताए।

विश्वमा हरेक १० व्यक्तिमध्ये एक जना कोरोना भाइरसबाट संक्रमित हुन सक्ने उनले बताए। जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरको तथ्यांकअनुसार मंगलबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड ५४ लाख नाघेको छ । तर, डब्लूएचओले भने करिब ८० करोड मानिस कोरोना भाइरसबाट संक्रमित हुन सक्ने बताएको छ ।

जनस्वास्थ्यविद्हरुले लामो समयदेखि अहिले पुष्टि भएको संख्याभन्दा निकै धेरै कोरोना भाइरसबाट संक्रमित भइसकेको हुन सक्ने बताएका छन् । 

डब्लुएचओका अनुसार विश्वमा संक्रमण पुष्टि भएको संख्याको ७० प्रतिशत १० वटा मुलुकमा मात्रै छ भने कुल मृत्यु हुने संख्याको आधा संख्या तीन वटा देशमा मात्रै छ। विश्वमा अहिलेसम्म कोरोना भाइरसका कारण १० लाख ४३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । त्यसको करिब आधा संख्या अमेरिका, ब्राजिल र भारतमा रहेको छ ।

जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार मंगलबार बिहानसम्म कोरोनाका कारण अमेरिकामा २ लाख १० हजार १ सय ८१, ब्राजिलमा एक लाख ४६ हजार ६ सय ७५ र भारतमा एक लाख २ हजार ६ सय ८५ जनाको मृत्यु भएको छ । 
एजेन्सीको सहयोगमा

विशेष