किन निराश भए प्रचण्ड ?
नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निरास भएका छन् । अर्का अध्यक्ष केपी ओलीले सत्ता सञ्चालनमा भाउ नदिएपछि उनको निराशा चुलिदै गएको छ ।
पार्टीका विभिन्न वैठकमा पार्टीको सल्लाह अनुसार सरकार सञ्चालन गर्ने निर्णय भएको र ओलीले सोहि अनुसार गर्ने भनी समझदारी गरेपनि त्यसअनुरूपको व्यवहार नपाएपछि प्रचण्ड निराश भएको उनी निकट श्रोतले जनाएको छ ।
प्रधानमन्त्रीको कृयाकलापका कारण अध्यक्ष प्रचण्डले आफू दिक्दार भएको बताउन थालेका छन् । जति नै भनेपनि र जस्तोसुकै सहमति गरेपनि ओलीले आफनो रवैया नछोडेको दाहालको भनाई छ।
माउ जस्तो भएपनि बाच्छाबाच्छीले लुछ्न छाड्दैनन् भनेझैँ यता बालुवाटारमा पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति बिरलै हुँदा उता खुमलटारमा भने नेता तथा कार्यकर्ताको भीड हुने गरेको छ । मन्त्रिमण्डल पुनर्गठनसम्बन्धी समाचार बाहिरिएपछि वास्तविकता पत्ता लगाउन पनि प्रभावशाली नेता तथा कार्यकर्ताहरूको खुमलटार आवतजावत बाक्लिएको हो ।
स्रोतका अनुसार विष्णु पौडेल अर्थ मन्त्री बन्ने पक्का झैं भएको खुमलटारले समेत पुष्टि गरेको छ । पूर्व माओवादीको कोटामा जनार्दन शर्मालाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिने समाचार बाहिरिए पनि अध्यक्ष दाहालका अनुसार प्रधानमन्त्रीले शर्मालाई मन्त्री बनाउने छाँट देखाएका छैनन्।
उता, सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले औपचारिक रूपमा पटक पटक नेकपा ज्वाईन गर्ने बताए पनि हालसम्म कुनै सम्भावना र लक्षण नदेखाएकोले प्रधानमन्त्री असन्तुष्ट बनेका छन् । त्रिपाठीको यदाकदा उल्टै आफूले नयाँ पार्टी बनाउने घोषणाले प्रधानमन्त्रीलाई अझै असन्तुष्ट वनाएकोस्रोतको दाबी छ ।
दशैंअघि रिक्त तीनवटा मन्त्रालयमा मात्र मन्त्री नियुक्त गर्ने र पुनर्गठनको काम भने दशैंपछि मात्र गर्ने संकेत देखिएपछि अर्का अध्यक्ष दाहाल थप दिक्दार भएको स्रोतको भनाई छ ।
मन्त्रिमण्डल पुनर्गठन तथा नयाँ मन्त्री थप्ने काम बालुवाटारको लागि पनि टाउको दुखाईको विषय बनेको छ । सोमबार दुईजना अध्यक्षबीच महासचिव पौडेललाई अर्थमा नियुक्त गर्ने एक किसिमको सहमति भइसके पनि आज एकाएक उक्त सहमति कार्यान्वयनमा आशंका उब्जेको छ । रिक्त तीन वटै मन्त्रालय यसअघि पूर्व एमालेको भागमा परेको थियो ।
शहरी विकास मन्त्रालय पनि उपेन्द्र यादव सरकारबाट बाहिरिएपछि पूर्व एमालेको भागमा नै थियो । यस्तो अवस्थामा न तीनवटै मन्त्रालयमा आफ्ना मान्छे भर्नु न आफ्नो गाँस काटेर पूर्व माओवादीलाई दिनु भन्ने असमान्जस्यताको स्थिति देखिएपछि मन्त्री नियुक्तिको विषयले मंगलबारको सचिवालय बैठकमा प्रवेश नै नपाएको एक नेताले वताए ।