वडाध्यक्षमाथि महिला हिंसाको आरोप, पीडितले सुरु गरिन आमरण अनसन
जनप्रतिनिधिको ज्यादती विरुद्ध सिरहाको लहानमा एक महिलाले आमरण अनसन सुरु गरेकी छन् ।
सुखीपुर नगरपालिका–४ का वडाध्यक्षले आफुलाई कुटेको भन्दै लहान नगरपालिका–१३ भोटिया टोलकी ममतादेवी यादव न्याय माग्दै लहानस्थित सहिद चोकमा आमरण अनशनमा बसेकी हुन् ।
असोज १६ गतेदेखि सोहि ठाउँमा धर्ना वसेनी उनी माग सुनुवाई नभएको भन्दै मंगलवारदेखि अनसनमा वसेकी हुन। वडाध्यक्ष रामलोभित यादवसहित उनका आफन्तले आफूमाथि कुटपिट गरेको र हालसम्म आफूले क्षतिपूर्ति नपाएको उनको आरोप छ । भोटिया टोलमै घर बनाएर बस्दै आएका वडाध्यक्ष यादवले गत असार ७ गते ममतालाई कुटपिट गरेका थिए ।
अरुसँग किन बोलेको र आफूले भने बमोजिम नहिँडेको भन्दै वडाध्यक्ष यादवले कुटपिट गरेको ममताले बताइन् । ‘उसले भनेको नमानेकै कारण परिवारै मिलेर मलाई कुटे।’– उनले भनिन्।
आफूमाथि कुटपिट पनि भएको, उपचार पनि आफैले गराउनु परेको र आफूलाई कुट्नेहरुलाई कारबाही पनि नभएको तथा धर्ना बस्दा पनि कतैबाट वास्ता नभएपछि भोक हड्तालमा बसेको उनको भनाइ छ ।
उपचारका क्रममा एक लाख रुपैयाँभन्दा बढी खर्च भए पनि वडाध्यक्ष यादवले हालसम्म कुनै क्षतिपूर्ति नदिएको पीडित महिलाको आरोप छ ।
वडाध्यक्ष यादव भने आफुले उनलाई कुटपिट नगरेको वताए । पीडितले उनी विरुद्ध प्रहरीमा उजुरी समेत दिएकी छिन् । उजुुरीका आधारमा असोज ११ गते प्रहरीले नवीन यादवलाई नियन्त्रणमा लिएको छ । वडाध्यक्षसहित अन्य फरार छन् । उनीहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ ।