नेकपा नेता गुरु वरालमाथि आत्महत्या दुरुत्साहनको आरोप, आक्रोसित समुहद्वारा हातापात
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवम् मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष गुरु बरालमाथि हातपात भएको छ । प्रतिष्ठानका लेखा तथा प्रशासन प्रमुख मुक्तिनाथ दाहललाई आत्महत्या गर्न वाध्य पारेको भन्दै आक्रोसित समुहले उनीमाथि हातपात गरेको हो ।
उर्लाबारी नगरपालिका–३ मंगलबारेमा केन्द्रीय कार्यालय रहेको प्रतिष्ठानका लेखा तथा प्रशासन प्रमुख दाहालको शव सोमबार झापाको दमकस्थित बहुप्राविधिक शिक्षालयमा झुन्डिएको अवस्थामा भेटिएको थियो । आफन्त र छिमेकीले भने मुक्तिनाथलाई आत्महत्या गर्न बाध्य बनाएको दाबी गरेका छन् ।
प्रमुख कार्यकारी अधिकृत विनोद अर्यालले खाली चेकमा हस्ताक्षर गर्न लगाएर आत्महत्या गर्न बाध्य बनाएको प्रतिष्ठानकी सदस्य विद्या चाम्लिङले आरोप लगाएकी छन् ।
अर्यालले खाली चेकमा हस्ताक्षर गर्न लगाएपछि आफू तनावमा परेको दाहालले सुनाएको उनले बताइन् । अर्यालले दिएको मानसिक तनावका कारण दाहालले आत्महत्याको बाटो रोजेको दाबी आफन्तको छ ।
मंगलबार प्रतिष्ठानका अध्यक्ष बरालसहितका नेकपाका नेताहरु दाहालको घर पुगेका थिए । सोहि क्रममा उनीमाथि आक्रमण भएको थियो । बराललाई प्रहरीले उद्धार गरेको थियो ।