पत्निकै चरित्र हत्या आरोपमा उपेन्द्र यादवका प्रेस सल्लाहकार रहेका तमोली पक्राउ
जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवको प्रेस सल्लाहकार रहेका पत्रकार महेशकुमार तमोली पक्राउ परेका छन् । सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको आरोपमा आफनै पत्निले दिएको उजुरीका आधारमा तमोलीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनी साइबर अपराधमा तानिएका छन् । सामाजिक संजाल मार्फत श्रीमतीको चरित्रहत्या गरेको आरोपमा नेपाल प्रहरीको काठमाडौं परिसरले पन्ध्र दिनअघि तमोलीलाई नेपालगञ्जबाट पक्राउ गरेको हो । उनलाई साइबर अपराधमा मुद्दा चलाउन तयारी भैरहेको बताइएको छ ।
पारिवारिक सम्बन्ध बिग्रँदै गएपछि श्रीमतीले तमोलीसँग सम्वन्ध विच्छेदको प्रक्रिया शुरु गरेकी थिइन् । श्रीमतीको निर्णयबाट छटपटाएका उनले पत्निकै चरित्र हत्या गर्न थालेपछि प्रहरीमा उजुरी परेको थियो ।
चमोलीले ‘चरित्रहीन श्रीमतीले सदाको लागि छोड्न खोजेकोमा आफूलाई खुशी लागेको’ भन्ने आसयको स्ट्याटस सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । पत्निको फोटोलाई अश्लिल बनाएर पटक–पटक सामाजिक सञ्जालमा पोष्ट गरेको पाईएपछि उनलाई पक्राउ गरिएको प्रहरी श्रोतले जनाएको छ ।
सम्वन्ध विछेदको मुद्दा अदालतमा विचाराधीन रहेकै वेला तमोलीले अनर्गल प्रचार गर्न थालेपछि पत्निले प्रहरीमा साईबर अपराधको उजुरी दर्ता गराएकी थिईन ।