News

'अनसनमै नन्दप्रसाद मरे, डा.केसीको पनि ज्यान लिने तयारी भइरहेको छ'

'अनसनमै नन्दप्रसाद मरे, डा.केसीको पनि ज्यान लिने तयारी भइरहेको छ'

स्वास्थ्य तथा शिक्षा क्षेत्रको सुधारको माग गर्दै अनसनरत डा. गोविन्द केसीलाई सरकारले मर्नका लागि छोडेको शिव सेना नेपालले आरोप लगाएको छ ।

शिव सेनाका अध्यक्ष अनिल बस्नेत ‘बाबा’ले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकार मेडिकल माफियाको चंगुलमा परेको र डा. गोविन्द केसीलाई ‘मरे पनि फरक पर्दैन’ भनेर वास्ता नगरेको वताएका छन्।

विज्ञप्तिमा ६ बुँदे माग राखेर १९ औं सत्याग्रहमा रहेका केसीको ज्यान जोखिममा परेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

माफियाको माग पूरा गर्दा मार्सी चामलको भात खान पाइने तर केसीको माग पूरा गर्दा व्यक्तिगत फाईदा नपाईने भएकाले उनलाई वेवारिसे वनाईएको विज्ञप्तिमा उल्लेख छ । ‘यो व्यवस्थाका नाइकेहरु डा. केसीजस्ता अभियन्तालाई अनसनमै मृत्युवरण गर्न विवस बनाइरहेका छन्’– विज्ञप्तिमा भनिएको छ।

‘डा. केसी जनताका डाक्टर भएकाले उनका हरेक मागले देश र जनताको हित गर्छ’ विज्ञप्तिमा भनिएको छ–‘यस्ता जनहितकारी सुझाव नमान्नुको अर्थ केसीलाई मरे पनि फरक पर्दैन भन्ने सन्देश दिइएको हो ।’

काठमाडौंको सुखसयल र सत्ताको मोजमस्तिमा रमाएका शासकले अछामका जनताको नसुन्नु स्वभाविक भएको उल्लेख गर्दै भ्रष्टाचारमा अर्बौं सिद्याउन सक्नेले मेडिकल कलेज खोल्न सकिदैन भन्नु आश्चर्य जनक भएको जनाईएको छ । कोरोनाबाट जोगाउन केसीको सुझाव अस्वीकार गर्नु पनि शंकास्पद रहेको विज्ञप्तिमा जनाईएको छ ।

देशका मेडिकल माफियाको चुंगलमा परेको सरकारले केसीका माग पूरा गर्दै नगर्ने र गरिहाले पनि कार्यान्वयन नगर्ने नियत राखेको आरोप लगाउँदै शिव सेनाले भनेको छ–‘डा. केसीलाई तलमाथि भए उत्पन्न हुने जनताको आँधिहुरीले के के उडाएर लैजान्छ, त्यो वर्तमान शासकले कल्पना गरेभन्दा भयंकर हुने छ।’

केसीको माग पूरा गर्दा जनताले सुलभ स्वास्थ्य सेवा पाउने र त्यसले मेडिकल माफियाका अस्पताल र मेडिकल कलेजहरु बन्द हुने जनाउँदै सरकारले यस्तो हुन कदापी नदिने दावी गरिएको छ । विज्ञप्तिमा ‘यो सरकारले बरु जनता मार्छ तर माफियालाई जोगाइरहन्छ’ भनिएको छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘अनसनमै नन्दप्रसाद मरे, डा.केसीको पनि ज्यान लिने तयारी भइरहेको छ। सत्य र न्यायका पक्षमा उभिनेहरुलाई भौतिक रुपमै सिध्याउनु यो व्यवस्थाको विशेषता नै भएको छ ।’
 

विशेष