News

कोरोना: सक्रिय सङ्क्रमितको प्रतिशतका आधारमा नेपालले भारतलाई उछिन्यो

कोरोना: सक्रिय सङ्क्रमितको प्रतिशतका आधारमा नेपालले भारतलाई उछिन्यो

कोरोना भाइरसका सक्रिय सङ्क्रमितको प्रतिशतका आधारमा नेपाल अति प्रभावित देशमध्ये दक्षिण एशियामै दोस्रो स्थानमा पुगेको छ । नेपालले भारतलाई पनि उछिनेको विज्ञहरू बताउँछन्। यसबाट नेपालमा संक्रमण डरलाग्दो स्थितिमा भएको चित्रण हुने उनीहरूको भनाई छ।

यसैगरी, कोरोनाभाइरस सङ्क्रमितको संख्याका आधारमा नेपाल दक्षिण एशियामै चौथो स्थानमा छ। नेपालमा सङ्क्रमितको कुल संख्या १ लाख ६७६ पुग्दा सक्रिय संक्रमितको संख्या २७ हजार ५३ छ। यो कुल सङ्क्रमितको झन्डै २७ प्रतिशत हो।

भारतमा सक्रिय सङ्क्रमितको संख्या ८ लाख ९३ हजार ५९२ रहेको छ। जुन १२ दशमलव ९ प्रतिशत हो।

त्यसपछि सक्रिय सङ्क्रमितको दर बाङलादेशमा २२, भुटानमा १७ दशमलव १, अफगानिस्तानमा १२ दशमलव ९, श्रीलङ्कामा १२ दशमलव ३ र माल्दिभ्समा १० दशमलव ५ प्रतिशत छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अवैतनिक सल्लाहकार डा. सुरेश तिवारीका अनुसार सक्रिय सङ्क्रमितको दर धेरै हुनु भनेको त्यो देशमा धेरै जोखिम हुनु हो।

‘दक्षिण एशियामा हेर्ने हो भने सक्रिय सङ्क्रमितको दर नेपालमा धेरै छ। त्यसको अर्थ जोखिम पनि अन्य मुलुकको दाँजोमा यहाँ धेरै छ भन्ने हो’– उनले भने।

सक्रिय सङ्क्रमित उच्च हुनुको कारण
तिवारीका अनुसार अहिले सक्रिय सङ्क्रमितको दर नेपालमा धेरै देखिनुका प्रमुख तीन कारण छन्।

होम आइसोलेशनमा बस्ने सङ्क्रमितको संख्या धेरै छ। १४ दिनसम्म उनीहरू आइसोलेसनमै बस्नुपर्ने सरकारको नीतिले सक्रिय सङ्क्रमितको संख्या धेरै देखिएको हो

सङ्क्रमण दर लगातार रूपमा बढिरहेको छ र मानिसको आवतजावत घटेको छैन। सङ्क्रमित हुनेको संख्या बढेको छ तर निको हुने दर घटेको छ। अस्पतालमा रहेका बिरामीको स्वास्थ्य अवस्थाअनुसार उपचार गर्ने र त्यसै अनुसार औषधि दिनुको सट्टा लामो समय निगरानीमा राख्दा पनि सक्रिय सङ्क्रमितको संख्या घट्न सकिरहेको छैन।

नेपालको अवस्था
महामारी सुरु भएको देश चीनमा रहेको सङ्क्रमितको सङ्ख्यालाई गत बुधवार उछिनेको नेपाल अहिले शीर्ष ५० स्थानभित्र छ।

सङ्क्रमितको संख्या पछिल्लो एक महिनामै दोबरले वृद्धि भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्कले देखाउँछ।

त्यसमा पनि पछिल्लो समय ६० वर्ष उमेर नाघेका मानिसहरूको सङ्क्रमित हुने दर ० दशमलव ५ प्रतिशतबाट बढ्दै गएर अहिले नौ प्रतिशतको हाराहारी रहेको छ। त्यस्तै महिलाहरूको पनि सङ्क्रमित हुने दर १४ प्रतिशतबाट बढेर ३४ प्रतिशत पुगेको छ।

बाहिर जिल्लाबाट काठमाण्डू उपत्यकामा आउने र उपत्यकाबाट बाहिर जिल्ला जाने मानिसको क्रम बढिरहेकोले सङ्क्रमण अझै दुई÷तीन साता उकालो लाग्ने देखिएको डा. तिवारीले बताए।

दक्षिण एशियाको अवस्था
भारतमा सङ्क्रमितको कुल संख्या ६९ लाख नाघेको छ भने मृतकको संख्या १ लाख ६ हजार ४९० पुगेको छ।

केही समयअघिसम्म भारत, पाकिस्तान र अफगानिस्तानपछि चौथो स्थानमा रहेको बाङलादेश पछिल्लो समय दक्षिण एशियाली देशमध्ये दोस्रो स्थानमा पुगेको छ।

जोन्स हप्किन्स यूनिभर्सिटीले बनाएको सूचीमा भारतपछि १६ औँ स्थानमा बाङलादेश छ। अहिले त्यहाँ सङ्क्रमितको कुल संख्या ३ लाख ७४ हजार ५९२ र मृतको संख्या ५ हजार ४६० पुगेको छ।

दक्षिण एशियामा भारत र बाङलादेशपछि पाकिस्तान तेस्रो स्थानमा छ जहाँ सङ्क्रमितको संख्या ३ लाख १७ हजार ५९५ र मृतकको संख्या ६ हजार ५५२ पुगेको छ।

यसले सङ्क्रमितको संख्या बाङलादेशमा बढी रहे पनि मृत्युदर पाकिस्तानमा धेरै रहेको देखाउँछ। पाकिस्तान अहिले विश्वभरिमा धेरै सङ्क्रमित हुने देशको २२ औँ स्थानमा छ।

नेपालमा मृत्युदरको अवस्था
सक्रिय सङ्क्रमित दर नेपालमा धेरै रहे पनि मृत्यु दर भने तुलनात्मक रूपमा नेपालमा कम छ। नेपालमा अहिले मृत्युदर ० दशमलव ६ प्रतिशत देखिएको छ।

तर स्वास्थ्य सेवा प्रणालीलाई बलियो नबनाए मृत्युदरमा पनि नेपालको अवस्था खराब हुनसक्ने स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. सुरेश तिवारी बताउँछन्।

मृत्युदर सबैभन्दा धेरै हुने दक्षिण एशियाली देशमा अफगानिस्तान सबैभन्दा माथि देखिन्छ। त्यहाँ मृत्युदर ३ दशमलव ७ प्रतिशत छ। त्यसपछि क्रमशः पाकिस्तानमा २ दशमलव १, भारत र बाङलादेशमा १ दशमलव ५, श्रीलङ्का र माल्दिभ्समा ० दशमलव ३ प्रतिशत छ।

दक्षिण एशियामा सबैभन्दा कम सङ्क्रमित संख्या भुटानमा रहेको छ। जम्मा ३ सय ४ जनामा सङ्क्रमण पुष्टि भएको भुटानमा कोभिड–१९ का कारणले कसैको पनि मृत्यु भएको छैन।

बीबीसी नेपालीको सहयोगमा

विशेष