क्रिश्चिएन लगानीमा हिन्दुभित्रको जातीय प्रश्न केलाउँदै राजेश हमाल !
नेपाली फिल्मी दुनियाँका महानायक राजेश हमालले क्रिस्चियनहरुको लगानीमा नेपाली हिन्दु समाज भित्रको जातिय विभेदका प्रश्न उठाउन थालेका छन् ।
समता फाउण्डेसनले सुरु गरको ‘जातका प्रश्न’ नामको टिभी कार्यक्रम मार्फत हमालले नेपाली समाजको विभेदका जरा खोतल्न थालेका हुन् । टिभी कार्यक्रममा ‘क्रिश्चियन एड नेपाल’ को लगानी छ ।
विभिन्न अतिथि वोलाएर सञ्चालन गरीने कार्यक्रममा हमाललाई कार्यक्रम सञ्चालकको जिम्मा दिईएको छ । जातीय विभेद तथा छुवाछूतका घटना गाउँ‑गाउँ पुगेर सङ्कलन गरिने र त्यसको आधारमा जिम्मेवार निकाय र सरोकारवाला पक्षसँग कार्यक्रम सञ्चालक अभिनेता हमालले समाधानमुखी संवाद गर्ने जनाईएको छ ।
हिन्दु समाजमा रहेको विभेद मध्ये जातको आधारमा एउटा मानिसले अर्को मानिसप्रति गर्ने भेदभाव र क्रुर अमानवीय व्यवहारका विषयमा कार्यक्रम केन्द्रित हुनेछ। नेपाली समाजमा जरो गाडेर वसेको जातिय विभेदलाई एकै पटक हटाउन नसकेपनि त्यस विषयमा बहस चलाउनु तथा भेदभाव र अन्यायका कुराहरु उजागर गर्नु कार्यक्रमको मुख्य उदेश्य हो ।
नेपालको संविधानले जातीय विभेद तथा छुवाछूतलाई निषेध गरे पनि कानून, नीति र कार्यक्रम कार्यान्वयनको पक्ष फितलो हुँदा दलित तथा सीमान्तकृत समुदाय विरूद्ध अझै पनि जातीय विभेद र छुवाछूतलगायतका हिंसा भइरहेकाले यस्तो कार्यक्रम चलाउन लागिएको फाउण्डेसनले जनाएको छ ।
‘दलित तथा सीमान्तकृत समुदाय निरन्तर बहिष्करण र उत्पीडनमा पारिएका छन् । सामाजिक न्यायको मुद्दा जटिल र चुनौतिपूर्ण बनेको छ’ फाउण्डेसनले भनेको छ–‘नेपालको दलित आन्दोलनले समावेशी समानुपातिक प्रतिनिधित्व र सहभागीताको मुद्दा लामो समयदेखि उठाउँदै आएको छ । तर, प्राकृतिक विपद् र सङ्कटको समयमा सीमान्तकृत समुदाय नै सबैभन्दा धेरै प्रभावित हुने गरेका छन् ।’
दलित तथा सीमान्तकृत समुदायले भोग्नुपरेको यिनै सामाजिक उत्पीडन र विभेद विरूद्ध नीतिगत बहस तथा पैरवी गरी सामाजिक न्यायको वकालत गर्ने उद्देश्यले टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ निर्माण गरिएको समता फाउण्डेशनले जनाएको छ ।