आशिर्वाद लिने नाममा वुढावुढिलाई जोखिममा नपारौं : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैंमा टिका लगाउने र आशिर्वाद लिने नाममा वृद्धवृद्धालाई कोरोनाको जोखिममा नपार्न आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बुढापाकालाई कोरोनाको जोखिम बढी हुने भएकाले सचेत हुनुपर्ने बताए।
कोरोना भाइरसको संक्रमण फैलँदो क्रममा रहेकाले दसैंमा विशेष सचेतता अपनाउन र अनलाइन वा फोनबाट आशिर्वाद लिन मन्त्रालयले आग्रह गरेको छ । ‘मान्यजनसँग आशिर्वाद लिन जाने क्रममा यात्रा नगरौं र यसपटक टीका धेरै बुढापाकासँग गएर नलगाऔं’–गौतमले भने।
बढी उमेरका व्यक्तिलाई कोरोना संक्रमणको जोखिम धेरै हुने भन्दै उनले भने–‘आशिर्वाद लिने क्रममा संक्रमण सारेर दुर्घटनाहरू त निम्त्याउने योजनामा छैनौं ?, त्यसो नगरौं।’
दसैंमा किनमेलका कारण पनि कोरोना भाइरसको संक्रमण फैलिने उनले वताए । ‘सकेसम्म भीडभाडमा नगएर कोरोना भाइरसको संक्रमणबाट बचौं’ उनले भने–‘यसपाली दसैं संयमीत भई, भीडभाडमा सपिङ नगरी, भएकै लुगा/कपडा र सरसामानको उपयोग गरी मनाऔं ।’ घरमा पूजाआजा गरी, घरमै बनाएका खानाहरू, घरकै सदस्य मिलेर खाउन उनले सल्लाह दिए ।
कोरोना संक्रमितले पनि समस्या परेमा मात्रै अस्पताल जान र लक्षण नभएका कोरोना संक्रमितले पनि बाहिर हिड्डुल नगर्न उनले सुझाव दिए । अन्यथा संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गरिने उनको चेतावनी छ।