News

छठपछि विद्यालय संचालन गर्न गृहकार्य

छठपछि विद्यालय संचालन गर्न गृहकार्य

सरकारले कोरोनको जोखिमको अवस्था मुल्यांकन गरेर विद्यालय संचालनका लागि गृहकार्य थालेको छ ।

कोरोना संक्रमित नभएको र संक्रमणको जोखिम नरहेका क्षेत्रमा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड कडाइका साथ पालना गरेर विद्यालय खोल्ने तयारीमा सरकार लागेको हो ।

विद्यालय सञ्चालनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यढाँचा निर्माया गरिरहेको जनाईएको छ । तिहारपछि कार्यढाँचा बनिसक्ने मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए। ढाँचामा पठनपाठन जोखिमरहित हुने गरी सञ्चालन गर्ने विषयमा मापदण्ड पनि समावेश गरिनेछ।

विद्यालय सञ्चालनका लागि स्थानीय तहको पनि सहयोग खोजिएको छ । कोरोनाको जोखिम भए वा नभएको सम्बन्धित स्थानीय तहले विज्ञहरूको परामर्शमा पहिचान गरेपछि परिवेश हेरेर मात्रै विद्यालय खोल्न दिइनेछ।

सरकारले छठपछि कोरोना जोखिम नरहेका ठाउँमा विद्यालय खोल्ने गृहकार्य गरेको छ। विद्यार्थी संख्या र विद्यालयको भौगोलिक अवस्था हेरेर कक्षा आलोपालो गरी पठनपाठन गर्न पनि सकिने शर्माको भनाई छ । यसैगरी, विद्यालयले आफ्नो अवस्था हेरेर कसरी विद्यालय खोल्ने भन्नेबारे तयारी गर्न सक्ने उनले बताए। 

तर विद्यालय खोलेपछि पनि भौतिक दूरी भने कायम राख्नुपर्ने र शिक्षक तथा विद्यार्थीहरूले अनिवार्य मास्क लगाउनुपर्ने शर्माको भनाई छ । गत चैतदेखि वन्द भएका विद्यालयमा सरकारले असार १ गतेदेखि वैकल्पिक माध्यम भन्दै अनलाइन कक्षा संचालन गर्ने अनुमति दिएको थियो । तर, यो प्रभावकारी हुन नसकेको गुनासो छ।

आइसोलेसन सेन्टर तथा क्वारेन्टिन बनाइएका विद्यालय निर्मलीकरण गरी पठनपाठनका लागि सुरक्षित बनाउने पनि सरकारको तयारी छ। कोरोना संक्रमण स्थितिबारे विज्ञ, सरोकारवालाले भनेपछि मात्रै विद्यालय खोल्न दिइने पनि उनले बताए।

मन्त्रिपरिषदको असोज २२ गतेको वैठकले कोरोना जोखिम नरहेका स्थानीय तहमा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड लागू गरी कक्षा चलाउन सकिने भनेपछि शिक्षा मन्त्रालयले यसबारे कार्यढाँचा बनाउन थालेको थियो। 
 

विशेष