News

अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बियोनटेकले विकसित गरेको कोरोना भ्याक्सिन सर्वसाधारणका लागि तत्कालै नआउने

अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बियोनटेकले विकसित गरेको कोरोना भ्याक्सिन सर्वसाधारणका लागि तत्कालै नआउने

अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बियोनटेकले विकसित गरेको कोभिड–१९ विरुद्धको भ्याक्सिन आम सर्वसाधारणका लागि तत्कालै नआउने भएको छ । यो भ्याक्सिन ९० प्रतिशत सफल रहेको दाबी गर्दै ती कम्पनीले यसबारे सोमबार सार्वजनिक गरेका थिए। 

तेस्रो चरणको क्लिनिकल ट्रायलमा उक्त भ्याक्सिनले कोभिड–१९ विरुद्ध शरीरको प्रतिरोधी क्षमता बढाएको थियो । अनुसन्धानकै चरणमा रहेको भ्याक्सिनको अन्तरिम तथ्यांकले कोभिड–१९ लाई रोक्न यसको प्रयोग ९० प्रतिशत प्रभावकारी देखिएको दाबी गरिएको छ। भ्याक्सिन उत्पादक कम्पनीहरुले यसको सुरक्षासम्बन्धी तथ्यांकलाई पर्खिरहेको छ। उक्त तथ्यांक यही नोभेम्बरको अन्तिमतिर आउन सक्ने बताइएको छ। 

यो भ्याक्सिनलाई सरकारले सबैभन्दा जरुरी ठानेका व्यक्तिहरुसम्म पु¥याउन फाइजर र बियोनटेकलाई नियामक निकायको स्वीकृति आवश्यक पर्छ। भ्याक्सिनको सबैभन्दा जरुरी रहेको सूचीको प्राथमिकतामा स्वास्थ्यकर्मी र अस्पतालमा रहेका व्यक्तिहरु हुनेछन्। 

तर यो भ्याक्सिनको जटिल पक्ष के छ भने, यसलाई राख्न अत्यधिक चिसोको आवश्यकता पर्नेछ। अमेरिकाका निकै सुविधायुक्त अस्पतालमा पनि यसलाई राख्न कठिन पर्ने बताइएको छ। जसले नेपाल जस्ता गरीब मुलुकहरुमा यो भ्याक्सिन ल्याएर प्रयोग गर्न सकिने सम्भावना सीमित रहेको देखाउँछ।
नोभल प्रविधिमा आधारित रहेको यो भ्याक्सिनमा भाइरस विरुद्ध प्रतिरोधी प्रणाली सक्रिय पार्न सिन्थेटिक एमआरएनएको उपयोग गरिएको छ, जसका लागि माइनस ७० डिग्री सेल्सियस वा त्योभन्दा पनि तलको तापक्रम आवश्यक पर्छ। 


‘यो भ्याक्सिनको वितरणमा तापक्रमको विषय नै सबैभन्दा चुनौतीमध्येको एक हो’, जोन हप्किन्स सेन्टर फर हेल्थ सेक्युरिटीका वरिष्ठ अध्येता अमेश अदलजाले भने, ‘आवश्यक मापदण्ड पूरा गर्न चुनौती सानो हुनेछैन, किनभने ठूला शहरको अस्पतालमा पनि यति तलको तापमानमा भ्याक्सिन राख्ने सुविधा छैन।’

अमेरिकाको सुविधासम्पन्न अस्पतालहरुमध्येको एक, रोचेस्टर मिनिसोटास्थित मायो क्लिनिकले पनि अहिले यो क्षमता आफूसँग नरहेको बताएको छ। मायो क्लिनिकका भ्याक्सिन अनुसन्धाना तथा भाइरोलोजिस्ट डा. ग्रेगरी पोल्यान्डले भनेका छन्, “यो एक प्रमुख चिकित्सा केन्द्र हो, यद्यपि हामीसँग माइनस ७० वा ८० तापमानको भण्डारण क्षमता छैन।“

उनले यो अमेरिकामा मात्रै होइन, पश्चिमा संसार बाहिर पनि ठूलो विषय भएको भन्दै यो असुविधा हरेकले स्वीकार्नुपर्ने यथार्थ रहेको पनि बताए।

फाइजरका प्रवक्ता किम बेन्करले कम्पनीले विगतमा अमेरिका, जर्मनी र बेल्जियमस्थित आफ्नो वितरण केन्द्रबाट विश्वभरमा भ्याक्सिन पु¥याउने विषयमा अमेरिकी सरकार र राज्यका अधिकारीहरुसँग मिलेर काम गरेको बताएकी छिन्।  

उनले भनिन्, “विस्तृत योजनामा सुख्खा बरफको प्रयोग गरी भ्याक्सिन भायललाई तोकिएको तापक्रममा १० दिनसम्म हवाई र स्थलमार्गबाट ढुवानी गर्न सकिन्छ।“

भ्याक्सिनहरु आपूर्ति गरिसकेपछि भने त्यसको भण्डारण र व्यवस्थापनको लागि राज्य र स्थानीय स्वास्थ्य सेवा प्रदायकहरू जिम्मेवार हुन्छन्। प्रवक्ता बेन्करले भ्याक्सिनलाई अल्ट्रा-लो तापक्रममा ६ महीनासम्म राख्न सकिने वा सामान्यतया अस्पतालहरुमा उपलब्ध हुने २ देखि ८ डिग्री सेल्सियस सी - ए तापमानमा पाँच दिनसम्म राख्न सकिने बताइन्।
यो सामग्री रोयटर्सबाट लिईएको हो।
 

विशेष