News

बंगलादेशसँग जीटुजी प्रकृयावाटै रसायनिक मल खरिद गरिने

बंगलादेशसँग जीटुजी प्रकृयावाटै रसायनिक मल खरिद गरिने

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले बंगलादेशसँग सरकारी तह (जीटुजी) मै रसायनिक मल खरिद गर्न लागेको छ।

मन्त्री घनश्याम भुसालले सरकारी तहबाटै मल खरिद गर्नेगरी बंगलादेश सरकारसँग सम्झौता भैसकेकाले केहि ढिलो भएको वताउँदै मंसीरको दोस्रो सातासम्म मल नेपाल आइसक्ने बताए ।

उनले ट्विटर मार्फत पनि मलको समस्या समाधान गरिएको जानकारी दिएका छन् । ‘अनेक समस्याबीच अहिले रसायनिक मलको आवश्यक व्यवस्था गरिएको छ’ उनले लेखेका छन्–‘वितरणमा कहिँकतै समस्या हुन सक्छन्, समाधान गरिन्छ । किसानले मल पाउँछन् ।’

बंगलादेश सरकारले निजी कम्पनीमार्फत् मल किन्न आग्रह गरेपनि नेपालले सरकारी तहबाट नै खरिद गर्न चाहेकाले प्रकृया केहि ढिलो भएको उनले वताए ।

मन्त्री भुसालले अहिले पनि मल अभाव नभएको र वितरणको समस्या पनि सल्टाएर चुस्त वितरण प्रणाली कायम गरिने बताए । गएको भदौ महिनामा नेपाल र बंगलादेशको दुई प्रधानमन्त्री तहमा भएको छलफलमा बंगलादेशले नेपाललाई मल पैंचो दिन सहमति जनाएको थियो । मल पैंचो दिने कानुनी व्यवस्था नभएकाले बंगलादेशले पछि वार्ताका क्रममा असमर्थता जनाएपछि मल खरिद गरेरै ल्याउने छलफल भएको हो ।

मन्त्रालयले ५० हजार मेट्रिक टन रासायनिक मल खरिद गरेर ल्याउने भुसालले वताए । मल ढुवानीका लागि कृषि सामग्री कम्पनीलाई यसअघि नै स्वीकृति दिइसकेको र सोहि अनुसार कम्पनीले ढुवानीका लागि १५ दिनको समय राखेर गत असोज ३ गते अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरेको पनि जनाईएको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) को जेन्ट्रेड एफजेडएफ कम्पनीले बोलपत्र मार्फत मल ढुवानी गर्ने जिम्मा पाएको मन्त्री भुसालले जानकारी दिए ।
 

विशेष