News राजनीति

नेपाललाई ‘नेपाल’ मात्रै लेख्ने निर्णय फिर्ता नभए आन्दोलन गर्छौ : उपेन्द्र यादव

नेपाललाई ‘नेपाल’ मात्रै लेख्ने निर्णय फिर्ता नभए आन्दोलन गर्छौ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले सरकार लोकतन्त्र र संघीय गणतन्त्र समाप्त पार्ने खेलमा लागेको आरोप लगाएका छन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ नलेख्ने निर्णय मुलुकलाई प्रतिगमनतर्फ लैजाने प्रयत्न भएकाले त्यस विरुद्ध आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।

वुधवार जनकपुर आएका यादवले संघीय लोकतान्त्रिक गणतन्त्र नलेख्ने निर्णय गर्ने अधिकार सरकारको नभएको दावी गरे । ‘सरकारलाई संविधानविपरीत निर्णय गर्ने कुनै अधिकार छैन। यसको मनसाय र निर्णय गैरसंवैधानिक छ,’ उनले भने, ‘सरकारले गैरसंवैधानिक काम गर्यो भने त्यो समाप्त हुन्छ ।’ संविधानको रक्षा गर्ने काम सरकारको भएको वताएका उनले भने–‘तर सरकारले नै संविधानविपरीत निर्णय गर्नु गलत हो ।’

सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पारेर मुलुकलाई प्रतिगमनतर्फ लैजान खोजेको उनले आरोप लगाए । जनताको वर्षौंको संघर्ष, त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता, नागरिक अधिकार, मौलिक हकलगायतका संवैधानिक व्यवस्थालाई ओली सरकारले नामेट पार्न खोजेको उनको आरोप छ।

संघीयतालाई समाप्त पार्नकै लागि प्रदेशहरुलाई कमजोर र अधिकारविहिन तथा कानुनविहिन वनाईएको उनको तर्क छ। प्रादेशिक स्रोत, शासन र स्वायतत्ता तथा राष्ट्रियताको पहिचान नै प्रदेशको संरचना रहेको बताउँदै बिनासुशासन र स्वायत्तताको प्रदेश, संघीय प्रणालीको प्रदेश नै हुन नसक्ने यादवले दाबी गरे । 

मन्त्रिपरिषद्को असोज ११ गतेको बैठकले नेपालको औपचारिक नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ लेखिँदै आएकोमा अबदेखि ‘नेपाल’ मात्रै लेख्ने निर्णय गरेको छ।
 

विशेष