News

प्रदेश २ मा कोरोनाको खोप व्यवस्थापनका लागि समिति गठन

प्रदेश २ मा कोरोनाको खोप व्यवस्थापनका लागि समिति गठन

प्रदेश २ सरकारले कोरोना भाइरसविरुद्धको भ्याक्सिन व्यवस्थापनको तयारी सुरु गरेको छ ।

कार्तिक २४ गतेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ भ्याक्सिन समयमै आपूर्ति गर्न अर्थ, स्वास्थ्य र परराष्ट्र सचिव सम्मिलित तीन सदस्यीय समिति गठन गर्दै सो सम्वन्धमा तयारी गर्न प्रदेश सरकारलाई पनि जानकारी गराएको थियो ।

संघीय सरकारले पुर्व तयारी गर्न आग्रह गरे लगत्तै प्रदेश २ सरकारले त्यसको तयारी सुरु गरेको हो । प्रादेशिक कोरोना संकट व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले कोरोनाविरुद्धको भ्याक्सिन व्यवस्थापनका लागि समितिसमेत वनाएको छ ।

संक्रामक रोग विशेषज्ञ एवं विज्ञ समूहका सदस्य डा. गरिबनाथ ठाकुरको संयोजकत्वमा भ्याक्सिन व्यवस्थापन समितिमा आपूर्ति महाशाखाका निर्देशक डा. प्रमोद यादव र स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झासहितको तीन सदस्यिय समिति वनाईएको छ ।

समितिले संघीय सरकार र सम्वन्धित कार्यालयमा समन्वय गरी भ्याक्सिनलाई व्यवस्थित गर्ने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

बैठकले अस्पतालमा आधारित उपचार प्रणालीलाई थप सुदृढ बनाउन प्रदेश भरिका ६ वटा अस्पतालमा २५ बेडका दरले जम्मा १५० बेडको उच्च निर्भरता कक्ष (एचडीयू) निर्माण गर्ने निर्णय समेत गरेको छ ।

यसैगरी, प्रदेश सरकारको सहयोगमा खरिद गरिएका भेन्टिलेटर यथाशीघ्र सञ्चालनमा ल्याउन आवश्यक दक्ष जनशक्ति व्यवस्थापन गर्ने निर्णय समेत बैठकले गरेको छ ।

सरकारले कोरोना विरुद्ध तेस्रो चरणको तयारीका लागि ५० हजार भीटीएम र रिएजेन्ट खरिद गरिसकेको समाजिक विकास मन्त्रालय आपूर्ति महाशाखाका निर्देशक डा. प्रमोद यादवले जानकारी दिए । 
 

विशेष