News राजनीति

नेकपाको बिबाद मिलाउन चिनियाँ दुतहरुको दौडधुप, होला त सफल?

नेकपाको बिबाद मिलाउन चिनियाँ दुतहरुको दौडधुप, होला त सफल?

अहिले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता जोगाउन चिनियाँ दूतावासले विभिन्न रणनीति अपनाएको छ। स्रोतका अनुसार नेकपा फुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रस्ताव गर्नुका साथै दबाब पनि दिएका छन् ।

प्रचण्ड भने पार्टी एकता जोगाउनुपर्ने पक्षमा देखिएको पूर्वमाओवादी निकट नेताहरुले बताउने गरेका छन् । प्रधानमन्त्री ओलीको प्रस्तावबारे प्रचण्डले खुलासा गरेपछि नेपालको राजनीतिक वृतमा नयाँ तरंग फैलिएको छ ।

यसअघि पनि पार्टी फुटको स्थितिबाट जोगाउनका लागि चिनियाँ राजदूत होउ यान्छीले ठूलो संघर्ष गरेकी थिइन् । उनले खुलेरै पार्टी एकता जोगाउन नेताहरुसँग दौडधूप र संवाद गरेपछि पार्टी एकता जोगिएको थियो ।

प्रधानमन्त्री ओलीले विभिन्न बुँदाहरुमा सम्झौता गरेर मिलेको पार्टी एकताका आधारहरु भत्काउन कर्णाली विवाद झिकेपछि फेरि तनाव सिर्जना भएको हो । पार्टी एकता संकटमा पर्न थालेपछि फेरि चिनियाँ राजदूत यान्छी सक्रिय भएकी छन् ।

उनले पार्टी एकतालाई जोगाउनका लागि दूतावासबाट कर्मचारी खटाएकी छन् । यसअघि पनि नेपाल–भारत सम्बन्धका विषयमा उत्पन्न विवादहरुबारे गोप्य दस्तावेज प्राप्त गर्नका लागि नेपाली एजेन्ट अर्थात तत्कालीन ईपीजी सदस्य रहेका अहिले प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार राजन भट्टराईलाई परिचालन गरिएको थियो। 

अहिले पनि त्यसैगरी केही चिनियाँ कूटनीतिज्ञ र नेपाली एजेन्टहरुलाई भत्ता दिएर पार्टी एकता जोगाउन ’कर्मचारीहरु’ खटाइएको छ । जसमा पूर्वमाओवादीका धेरै व्यक्तिहरुलाई दूतावासले पैसा दिएर पार्टी एकता जोगाउन संवाद र वातावरण निर्माणका लागि खटाएको छ । नेकपालाई चिनियाँ दूतावासले आफ्ना विगतका गल्तीहरुबाट सिक्दै अघि बढ्न आदेश दिएको स्रोतले दाबी गरेको छ ।

खटाइएका कर्मचारीहरुले उपयुक्त ढंगबाट पार्टी एकताको रक्षाका लागि काम गर्न नसकेमा वा नेकपा फुट्ने स्थितिमा पुगेमा भने राजदूत यान्छी आफै अघि आएर पार्टी एकता जोगाउने गरी योजना बनाएको चिनियाँ दूतावास स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले यसअघि पनि पटक–पटक पार्टी फुटाउन सक्ने भए फुटाएर देखाउन प्रचण्डलाई चेतावनीसमेत दिएका थिए ।

– फाईल फोटो।

विशेष