विराटनगरमा मोटरसाईकल र्यालीको यस्तो छ तयारी
राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै शिव सेना नेपालले आज पुर्वी शहर विराटनगरमा भब्य मोटरसाईल र्याली गर्दैछ।
र्यालीमा राजतन्त्र र हिन्दुत्वको पक्षमा रहेका ४ हजारभन्दा वढि युवाहरूको सहभागिता रहने शिव सेना नेपालका केन्द्रिय सदस्य सुरज कँडेलले वताए । र्यालीको तयारीका लागि शिव सेना नेपालका अधिकांश केन्द्रिय सदस्य विराटनगरमा भेला भएका छन् ।
दिउँसो साढे १२ वजे कन्चनवारीवाट रयाली सुरु हुनेछ । ठुलो मिल, रोडसेस चौक र महेन्द्र चौक हुँदै मोटरसाईकल र्याली वरगाछिमा पुगेर कोणसभामा परिणत हुने शिव सेना नेपालका मोरङ्ग जिल्ला अध्यक्ष सतिस पोखरेलले वताए ।
शिव सेनाले जनता र देशका पक्षमा प्रदर्शन गरीरहेको पोखरेलको भनाई छ। गणतन्त्रका नाममा ब्रम्हलुट तथा धार्मिक सापेक्षतामाथि हमला भईरहेकाले देश र जनताको भलाईका लागि राजसंस्था र हिन्दु राष्ट्रको विकल्प नभएको उनको भनाई छ ।
‘हामी लहडवाजीमा प्रदर्शन गरिरहेका छैनौ। जनताले जुन आशा र अपेक्षा गरेर गणतन्त्रका लागि आन्दोलन गरे, आज उनीहरुले के पाए’ उनले भने–‘राजा हुँदा जनताले जुन शान्तिको महसुस गरेका थिए, आज त्यो अवस्था रहेन। यो कुरा जनताले महसुस गरेका छन् ।’ जनताको भित्री इच्छा वुझेरै शिव सेनाले राजाको पक्षमा वकालत गरिरहेको पोखरेलले वताए ।
‘जनताले राजसंस्था चाहिएन, गणतन्त्र चाहियो भन्दा राजाले कुनै समस्या खडा नगरी राजगद्दी छाडेको सवैका अगाडि छर्लङ्ग छ’ केन्द्रिय सदस्य कँडेलले भने–‘जनताका प्रतिनिधि हौं भन्नेहरु चाहिँ आज के गरिरहेका छन् ।’ यो वास्तविक्ता जनताले वुझेको र अवका दिनमा राजाको विकल्प नभएकाले शिव सेनाले आफनोतर्फवाट प्रयास जारी राखेको उनको भनाई छ ।
‘सत्तामा पुगेपछि नेताले आफू बाहेक कोही देख्नै छोडे’ कँडेल भन्छन्–‘यो प्रवृत्तिका कारण जनता निराश र आजित भएका छन्। आफनो भलाईका लागि अव राजाको विकल्प छैन भन्ने कुरा जनतालाई परेको छ।’