News

परीक्षण सफल हुनसाथ कोरोनाको खोप नेपालमा !

परीक्षण सफल हुनसाथ कोरोनाको खोप नेपालमा !

कोरोना खोपको परीक्षण सफल हुनसाथ नेपाल ल्याउन सरकारले तयारी सुरु गरेको छ । हाल बेलायत, अमेरिका, चीन र रुसले कोरोनाको खोप बनाएर तेस्रो चरणको परीक्षण गरिरहेका छन। नेपाल विश्वव्यापी खोप सुविधा पाउने ‘कोभाक्स’ मा सामेल भएकाले विश्व बजारमा खोप आउनासाथ नेपालीले प्रयोग गर्ने गरी ल्याउने तयारी छ ।

कार्तिक २४ गतेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ भ्याक्सिन समयमै आपूर्ति गर्न अर्थ, स्वास्थ्य र परराष्ट्र सचिव सम्मिलित तीन सदस्यीय समितिसमेत गठन गरेको छ । समितिले कहाँ–कहाँ भ्याक्सिन बनिरहेको छ, कहिले र कुन प्रक्रियाबाट ल्याउने भन्नेबारेमा अध्ययन तथा तयारी गर्ने ति मन्त्रीले जानकारी दिए ।

यो निर्णयसँगै स्वास्थ्य मन्त्रालयले कोरोना खोपको ओसारपसार, भण्डारण, कोटेसन, लगानी र खोप लगाउने स्वास्थ्यकर्मीबारे गृहकार्य सुरु गरेको छ । खासगरी खोपको कोल्ड चेनलाई लिएर तयारी सुरु भएको मन्त्रालयले जनाएको छ । धेरै न्यून तापक्रममा भण्डारण गर्नुपर्ने र धेरै ताप संवेदनशील रहेकाले यसको तयारी महत्वपुर्ण रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले वताए ।

कुनै खोपलाई २ देखि ८ डिग्री सेन्टिग्रेट तापक्रममा संरक्षित राख्नुपर्छ भने कुनैलाई माइनस ७० डिग्री सेन्टिग्रेट तापक्रममा सुरक्षित राख्नुपर्ने औंल्याउँदै स्वास्थ्य अधिकारीहमरु भन्छन्–‘हालै ९० प्रतिशत प्रभावकारी देखिएको फाइजरको खोप माइनस ७० डिग्री सेन्टिग्रेट तापक्रममा सुरक्षित राख्नुपर्छ । गाउँघरसम्म यस्तो खोप पु¥याउनु चुनौतीपूर्ण काम हो ।’

भ्याक्सिन कहिलेबाट बजारमा आउँछ र कहिलेवाट प्रयोग सुरु हुन्छ भन्ने चाहि निश्चित नभएको उनको भनाई छ । तर, माघ महिनापछि नेपालमा समेत खोप आउने अनुमान गरिएको छ । ‘कोभाक्समा हामीले एप्लाइ गरेका छौं, त्यहाँबाट हामीले पनि खोप पाउँछौं’– उनले भने। कोभाक्स प्रणाली मार्फत गरिब र धनी सबै मुलुकमा प्रभावकारी रूपमा खोप पाउने सुनिश्चित गरिन्छ । विकसित र अन्य दाताले आर्थिक स्रोत दिने र गरिब मुलुकले पनि रकम योगदान गर्ने गरी कोभाक्सको धारणा ल्याइएको हो । कोभाक्सले अल्पविकसित र अविकसित मुलुकले खोप पाउने सुनिश्चित गरेको औंल्याउँदै डा. अधिकारीले भने–‘यसै प्रणाली मार्फत हामीले खोप पाउने हो, यो खोप अनुदानमा पनि आउँछ।’

कति लाग्छ खर्च ?
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीका अनुसार मुलुकमा सबैलाई कोभिडको खोप लगाउँदा करिब ६० अर्ब लाग्ने देखिएको छ । सरकारले हालसम्मको विश्लेषणअनुसार करिब ७० प्रतिशत नेपालीलाई खोप आवश्यक हुने आकलन गरेको छ ।
करिब दुई करोड १० लाख जनालाई पुग्ने खोप आवश्यक रहेको स्वास्थ्य मन्त्रालयको खोपसम्बन्धी आधिकारिक निकाय ‘बाल स्वास्थ्य तथा खोप शाखा’ का प्रमुख डा. झलक शर्मा गौतमले वताए ।

भारतमा डिसेम्बरमा कोरोनको खोप
भारतका एक वरिष्ठ सरकारी वैज्ञानिकका अनुसार भारत सरकारद्वारा समर्थित कोरोनाको खोप फेव्रुअरी २०२१ सम्म आउन सक्छ । भारत बायोटेक आईसीएमआरसँग मिलेर कोभिड खोप निर्माण गरिरहेको छ । यस्तै सिरम इन्स्टिच्युट अफ इन्डियाका सीईओ अदार पुनावालाले समेत सिरम इन्स्टिच्युट अफ इन्डिया कोभिड–१९ खोपको इमर्जेन्सी लाइसेन्सका लागि एप्लाइ गर्न सक्ने बताएका छन्, जो बेलायतको अक्सफोर्ड–एस्ट्राजेनको परीक्षण परिणाममा आधारित छ ।

विश्वको सबैभन्दा ठूलो खोप बनाउने कम्पनीका सीईओ पुनावालाले भने, ‘अहिलेसम्म कुनै सुरक्षा चिन्ता छैन तर खोपको दीर्घकालीन प्रभाव बुझ्न २–३ वर्ष लाग्छ ।’ उनले खोप सस्तो दरमा व्यक्तिलाई उपलब्ध गराइने र यसलाई युनिभर्सल इम्युनाइजेसन प्रोग्राममा सामेल गर्न प्रयास गरिनेसमेत बताए । उनले विभिन्न जारी प्रयासहरू सफल रहे डिसेम्बरको मध्यसम्म भारतसँग कोभिडको खोप उपलब्ध हुन सक्छ । उनले यो खोपको लागतको विषयमा भारत सरकारसँग कुराकानी भइरहेको र यो खोप धेरै सस्तो हुनेसमेत दाबी गरे ।

अक्सफोर्ड–एस्ट्रोजेनेकाको खोप भारतमा कोविशिल्डको नामले उपलब्ध हुने छ । सीरम इन्स्टिच्युट अफ इण्डिया यसको तेस्रो चरणको ट्रायल गरिरहेको छ । खोप दुई मात्राको हुने छ । यसको दोस्रो मात्रा २८ दिनभित्र दिनुपर्छ ।

कस्ता र कति खोप तयार हुँदैछन् ?
विश्वमा करिब २ सय भन्दा बढी सम्भावित खोपको विकास र परीक्षण भएको छ । यसमध्ये ४७ खोप मान्छेमा परीक्षण भइरहेको छ । फाइजर र बायोएनटेक ग्रुपसहितको १० वटा खोप अन्तिम चरणमा पुगिसकेका छन । डब्लूएचओका अनुसार विश्वका वैज्ञानिकहरू कोरोनाका लागि धेरै प्रकारका सम्भावित खोपहरू विकास गर्दै छन। यी सबै खोप कोरोना भाइरसलाई सुरक्षित रूपमा पहिचान र अवरुद्घ गर्नका लागि शरीरको प्रतिरोधी प्रणाली सिकाउन डिजाइन गरिएका छन ।

कोरोनाका थुप्रै सम्भावित खोप विकासका क्रममा छन । यसअन्तर्गत निष्क्रिय वा कमजोर भाइरसको खोपसमेत हो । यसअन्तर्गत निष्क्रिय वा कमजोर भएका भाइरसको उपयोग गरिन्छ । यसैले गर्दा यो रोगको कारण नबने पनि एउटा प्रतिरक्षा प्रतिक्रिया उत्पन्न गर्छ । यस्तै अर्को प्रोटिन आधारित खोप हो । यसमा प्रोटिन वा प्रोटिनको सेल हानिरहित अंशको उपयोग गरिन्छ । जसले एउटा प्रतिरक्षा प्रतिक्रियालाई सुरक्षित रूपले उत्पन्न गर्नका लागि कोभिड भाइरसको नक्कल गर्छ ।

यस्तै भाइरल भेक्टर खोपमा रोग उत्पन्न नगर्ने उद्देश्यले आनुवांशिक रूपमा इन्जिनियरिङ गरेका भाइरसको उपयोग गरिन्छ तर सुरक्षित रूपमा प्रतिरोधक प्रतिक्रिया उत्पन्न गर्न कोरोना भाइरस प्रोटिन उत्पन्न गर्छ । आरएनए र डीएनए खोपअन्तर्गत प्रोटिन उत्पन्न गर्न आनुवांशिक रूपले इन्जिनियरिङ आरएनए र डीएनए उपयोग गरिन्छ, जसले आफैं प्रतिरक्षा प्रक्रियाको संकेत दिन्छ ।

विशेष