डा. केसीद्वारा सरकारी उपचार खर्च अस्विकार
कोरोना संक्रमित डा. गोविन्द केसीले सरकारसँग उपचार खर्च नलिने भएका छन् । उनले आफ्नो उपचार खर्च आफैं व्यहोर्ने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार ट्वीट गर्दै डा. केसीको स्वास्थ्यलाभको कामना गर्नुका साथै सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताएका थिए । डा. केसीले स्वास्थ्यलाभको शुभकामनाका लागि धन्यवाद दिएका छन् ।
उपचार खर्च ब्यहोर्ने प्रधानमन्त्रीको ट्विटपछि डा. केसीले विज्ञप्ति निकालेर प्रस्ताव अस्विकार गरेका हुन् । उनले भनेका छन्–‘म कोभिड–१९ बाट संक्रमित भएपछि प्रम केपी शर्मा ओलीले दिनुभएको स्वास्थ्यलाभको शुभकामना सन्देशका लागि हार्दिक धन्यवाद दिन चाहन्छु। सरकारले मेरो उपचार खर्च बेहोर्छु भनेको सन्दर्भमा भने मेरो उपचार खर्च म आफै बेहोर्छु बरु सरकारले आफ्ना नागरिकप्रतिको कर्तव्य पूरा गरोस् ।’
उनले विपन्न र दूरदराजका कोरोना संक्रमितलाई निःशुल्क उपचार आवश्यक भए पनि उनीहरुले अहिलेसम्म उपचार पाउन नसकेको जनाएका छन् ।
डा. केसीलाई विहिवार कोरोना संक्रमण पुष्टि भएको हो । डा. केसीका सहयोगी प्रितम सुवेदीका अनुसार उनलाई रुघाखोकी लाग्नुका साथै ज्वरोसमेत आएको छ ।
डा. केसी अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको गणेशमान सिंह भवनमा उपचाररत छन् ।