४३ लिटर एसिडसहित धनुषामा एक ब्यक्ति पक्राउ
शनिबार धनुषाामा एक ब्यक्तिले आफ्नै श्रीमती र छोरीमाथि एसिड प्रहार गरेपछि त्यसको अनुसन्धानमा जुटेको प्रहरीले एसिड विक्रि गर्ने ब्यक्ति समेतलाई पक्राउ गरेको छ ।
५८ बोतल एसिडसहित जनकपुर उपमहानगरापालिका–४ स्थित किराना पसलका संचालक नागेन्द्र साहलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रति बोतलमा ७ सय ५० एमएलको दरले बियरका बोतलमा भरेर राखिएको ५८ वोतल एसिड प्रहरीले वरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी एसपी रमेशकुमार बस्नेतले बताए । बरामद गरिएको एसिड करिब साढे ४३ लिटर रहेको वस्नेतको भनाई छ।
प्रहरीका अनुसार साहले विराटनगरका एक व्यापारीबाट एसिड खरिद गरेका हुन। ति ब्यापारीलाई पक्राउ गर्न विराटनगरमा पनि प्रहरी परिचालन गरिएको छ ।
श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने सन्जिव साहलाई पक्राउ गरेपछि त्यसको अनुसन्धानका क्रममा प्रहरी नागेन्द्रसम्म पुगेको हो।
जनकपुर उप–महानगरपालिका–२० घर भई वडा नं. ७ जानकीनगर स्थित माईति नजिकै डेरा गरी वसेका आरती साह र उनकी ३ वर्षिया छोरीलाई २४ वर्षिय संजिव साहले एसिड प्रहार गरेका थिए । घाईते दुवै जनाको जानकी हेल्थ केयर एण्ड टिचिङ अस्पताल जनकपुरमा उपचार भई रहेको छ। आरतीको हात, अनुहार, पेट, छाती लगायतको शररिको २० प्रतिशत भाग जलेको र अवस्था गम्भिर छ भने रियाको टाउको, बायाहात जेलेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
पछिल्लो पटक साउनमा ओखलढुंगाकी पवित्रा कार्कीमाथि एसिड आक्रमण भएको घटनापछि सरकारले यसको खरिद बिक्री, एसिड प्रहारलगायतका घटनामा संलग्नलाई कठोर कानुन सजायसहितको अध्यायदेश नै जारी गरेको छ । नयाँ कानुन अनुसार एसिड प्रहारबाट अंगभंग भएमा २० वर्षसम्म कैद र बिनाअनुमति बिक्रीवितरण गर्नेलाई १० वर्षसम्म कैद सजाय हुनसक्छ ।
एसिड आक्रमणबाट पीडित बनेकाको सम्पूर्ण उपचार खर्च र जीवनयापनको ग्यारेन्टी राज्यले लिने कानुनमा उल्लेख छ । नयाँ कानुनपछि पहिलोपटक धनुषामा एसिड प्रहारको घटना भएको हो । एसिड आक्रमणकारी र यसको अनुमतिबिना बिक्रीवितरण गर्नेै सन्जिव र नागेन्द्रमाथि नयाँ कानुन अनुसार कारबाही हुनेछ ।
फोटोः आफनै श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने सन्जिव साह